नेपालका ७७ जिल्लामै कोरोना फैलिएको छ। यसअघि रसुवाबाहेक ७६ जिल्लामा मात्र कोरोना पुष्टि भएको थियो। शनिबार रसुवामासमेत कोरोना पोजिटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयकाअनुसार ८ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । रसुवामा भेटिएका संक्रमित मध्ये ७ जना कुवेतबाट आएका थिए । दुई जना भने भारतबाट आएका हुन् । उनीहरु सबैलाई क्वारेन्टिनमा राखिएको छ ।
शनिबार बिहान कैलालीको गोदावरी नगरपालिका–७ घर भइ चितवनमा उपचार गराइरहेका ५० वर्षीय पुरुषको मृत्यु भएसंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ। फोक्सोको क्यान्सरबाट पीडित पुरुष भारतमा उपचार गराएर नेपाल आएका हुन्। उनको चितवन मेडिकल कलेजमा उपचार भइराखेको थियो। असार ११ गते कोरोना परीक्षण गर्दा उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो।
उनको उपचारकै क्रममा शनिबार बिहान अस्पतालको आइसोलेसनमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या १२ हजार नाघेको छ। शनिबार मात्र पाँच सय ५४ जनाको रिपोर्ट पोजिटिभ आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार मात्र पाँच सय ५४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार तीन सय ९ पुगेको हो।
मन्त्रालयका अनुसार शनिबार मात्र एकसय २० महिला चारसय ३४ पुरुष गरेर पाँच सय ५४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। संक्रमितमध्ये एक हजार तीन सय ६९ महिला र १० हजार नौ सय ४० पुरुष छन्।
पछिल्लो २४ घण्टामा १८ महिला र ११८ पुरुष गरेर १३६ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म कोरोना जित्नेको संख्या २८ सय ४३ पुगेको छ। मृतकको संख्या भने २८ पुगेको छ।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट दुई लाख १० हजार ८ सय ७६ र आरडीटी विधिबाट दुई लाख ९४ हजार ३४ जनाको नमुना परीक्षण गरिएको छ। ६५ हजार ७ सय १२ जना क्वारेन्टाइनमा छन् भने ९ हजार चार सय ४७ जनाको आइसोलेसनमा उपचार भइराखेको छ।