उत्तर कोरियाले दक्षिण कोरियासँगका सम्पूर्ण सम्पर्क विच्छेद गर्ने घोषणा गरेको छ। उसले दुबै देशबीचको शीर्ष नेताबीचको हटलाइन समेत बन्द गर्ने घोषणा गरेको समाचार बिबिसीले प्रकाशित गरेको छ।
उत्तर कोरियाले दक्षिण कोरियालाई दुश्मन भन्दै यसलाई विभिन्न कदमहरूमध्येको पहिलो कदम ठान्न भनेको छ। कोरियन सेन्ट्रल न्यूज एजेन्सीले दुबै देशले संयूक्त रूपमा राखेको कार्यालय मंगलबारबाट बन्द हुने उल्लेख गरेको छ।दुबै देशले यो कार्यालय तनाव गर्न सन् २०१८ मा स्थापना गरेका थिए।
यो कार्यालय कोरोना भाइरसलाई मध्यनजर गर्दै जनवरीमा अस्थायीरूपमा बन्द गरिएको थियो यध्यपी दुबै देशले एकअर्कासँग फोनबाट सम्पर्क गर्दै आएका थिए।
यो कार्यालयमार्फत दुबै देशबीच दिनमा दुईपटक फोन सम्पर्क हुँदै आएको थियो। दक्षिण कोरियाले २१ महिनादेखि जारी फोन पहिलोपटक सोमबार बिहान नउठाएको तर अपरान्हमा भने उठाएको जनाएको छ।
उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनकी बहिनी किम यो-जोङले गत सातामात्रै दक्षिण कोरियाले उत्तरमा पर्चाहरू पठाउने समूहलाई नरोकेमा सम्पर्क कार्यालय बन्द गर्ने धम्की दिएकी थिइन्।
उनले सो पर्चा अभियान दुई देशबीच भएको शान्ति-सम्झौता विपरित भएको बताएकी थिइन्।