नातिनीहरुका लागि दूध किन्न घरबाहिर निस्केका बीरगञ्ज – १६ का ६७ वर्षीय नागेन पटेलको खुट्टा भाँचिने गरी कुटपिट गरेको आरोप लागेका एक जुनियर अधिकृतलाई प्रदेश प्रहरी कार्यालयमा तानिएको छ।
लकडाउनको समयमा बाहिर निस्केको भन्दै पटेललाई बसपार्कमा ड्यूटिमा खटिएका असई लालबाबु साहले लाठीले प्रहार गरी खुट्टा भाञ्च्चिएको थियो । प्रदेश प्रहरी प्रमुख डीआईजी धिरज प्रताप सिंहले पटेललाई बसपार्कमा डयुटिमा खटिएका असई लालबाबु साहले लाठी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताउँदै उनलाई प्रदेश प्रहरी कार्यालयमा तानिइसकिएको बताए । यहीँ राखेर उनले लाठी प्रहार गरेको सन्दर्भमा अनुसन्धान गरिने र दोषी पाइए कारबाही गर्ने सिंहले अनलाइनखबरलाई बताए । सिंहले यस्ता क्रियाकलापमा संलग्न नहुन प्रहरीलाई सचेत गराएका छन् ।