वागमती प्रदेशस्थित जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा, नारायण कार्कीलाई दुर्ब्यबहार गरेको आरोपमा काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गामा लकडाउन पालना गराउन खटिएका एक युवा स्वयंसेवी पक्राउ परेका छन्।
स्वयमसेवाको नाममा अनावश्यक गतिविधि गरेको आरोपमा प्रहरीले चन्द्रागिरी नगरपालिकाका उत्तम कार्कीलाई पक्राउ गरेको हो । कार्कीको पक्राउबारे काठमाडौं प्रहरी परिसर टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पुष्टि गरेका छन् ।

कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो उनीलगायतले बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए । उनीहरुले प्रहरीकै अगाडि कार्कीको खनतलासी पनि लिएका थिए ।
चितवन र हेटौंडामा कोरोना भाइरस परीक्षणको किट सकिएपछि काठमाण्डौ फर्कदै गरेका डा. कार्कीलाई शुक्रबार दिउँसो काठमाडौंको नागढुङ्गामा स्थानीय तहले खटाएका स्वयंसेवीले प्रहरीकै सामुन्ने गाडी खानतलासी गर्दै दुर्ब्यबहार गरेका थिए।
नाका चेकिङको सुरक्षा जिम्मा पाएका प्रहरी निरीक्षक हेमन्तविक्रम थापा पनि नजिकै उभिएका थिए । मातहत खटिएका सुरक्षाकर्मी उनीसँगै थिए । तर, डा. कार्कीलाई दुर्ब्यबहार भैरहदा उनीहरु मौन थिए।