जातीय युद्धमा आठ लाख टुट्सी समुदायका मानिसको नरसंहार गरेको आरोप लागेका रुवान्डाका ब्यापारी फ्रान्समा पक्राउ

जातीय युद्धमा आठ लाख टुट्सी समुदायका मानिसको नरसंहार गरेको आरोप लागेका रुवान्डाका ब्यापारी फ्रान्समा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ जेष्ठ २०७७
  • 4.6K
    Shares

फेलिसियन काबुगा

रुवाण्डामा चलेको हुट्स र टुट्सी जातीय समुदाय बीच चलेको गृह युद्धका क्रममा करीब आठ लाख मानिसको नरसंहार गरेको आरोपी फेलिसियन काबुगा झन्डै २६ वर्षपछि फ्रान्समा  पक्राउ परेका छन्।

सो नरसंहारका लागि सैनिकहरुलाई आर्थिक सहयोग गरेको अभियोग लागेका काबुगालाई शनिबार पेरिस नजिकैबाट पक्राउ गरिएको  फ्रान्सको न्याय मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ८४ वर्षीय काबुगा झुटो पहिचानसहित एस्नेरस-सुर-सेनको एक फ्ल्याटमा बसिरहेका थिए। सन् १९९७ मा काबुगामाथि नरसंहार गरेको तथा नरसंहार गराउन उक्साउने काम गरेको लगायतका सात आपराधिक अभियोग लगाइएको थियो। यी सबै अभियोग सन् १९९४ मा रुवाण्डामा भएको नरसंहारसँग सम्बन्धित छन्।

रुवाण्डाको दुई मुख्य जातीय समूहः हुट्स र टुट्सी बिच १९९० मा गृहयुद्ध सुरु भएको थियो।काबुगा हुटस समूहका व्यापारी थिए। उनलाई सन् १९९४ मा टुट्सीहरुको हत्या गराउन आर्थिक सहयोग गरेको आरोप लागेको हो।

‘सन् १९९४ देखि रूवाण्डा नरसंहारका आर्थिकदाताका रुपमा परिचित फेलिसियन काबुगा जर्मनी, बेल्जियम, कङ्गो-किन्शासा, केन्या वा स्विजरल्याण्डमा बस्दै आएका थिए’, फ्रान्सेली मन्त्रालयको एक विज्ञप्तिमा भनेको छ। आफ्नो अपराधका लागि उनी यी देशमा कानुनी उन्मुक्तिको सुविधा लिएर बस्दै आएका थिए।

उनीसँगै अगस्टिन बिजिमाना र प्रोटाइज एमपिरान्या अन्तर्राष्ट्रिय न्याय अन्तगरत खोजी सूचिमा रहेका छन्। उनीहरुमाथि पनि रुवाण्डाको नरसंहारको आरोप छ।

‘फलेसियन काबुगाको गिरफ्तारी आज नरसंहारका लागि जिम्मेवार अपराधीलाई छब्बीस बर्ष पछि पनि पक्राउ गर्न सकिन्छ भन्ने सूचक हो’, आईआरएमसीटीका प्रमुख अभियोजक सर्ज ब्रामत्जले एक विज्ञप्तिमा भने।

प्रमुख अभियोजक सर्जका अनुसार काबुगाको गिरफ्तारी फ्रान्सको कानून प्रवर्तन एजेन्सीहरू र अमेरिका, रुवाण्डा, बेल्जियम, बेलायत, जर्मनी, नेदरल्याण्ड लगायतका अन्य देशहरूबीचको सहकार्यमा सम्भव भएको हो।

‘उनको गिरफ्तारी सयौं-हजारौं नरसंहार पीडितहरुको लागि न्यायको दिशामा महत्वपूर्ण पाइला हो। त्यो नरसंहारमा बाँचेकाहरुले अब न्यायको आशा गर्न सक्छन् र संदिग्धहरु आफ्नो अपराधबाट उम्कन पाउने छैनन् भन्ने देखाएको छ’, ह्यूमन राइट्स वाचका अफ्रिकन निर्देशक मौसी सेगुनले काबुगाको गिरफ्तारपछि रोयटर्सलाई भने।

काबुगा रुवाण्डाको सर्वाधिक खोजीमा रहेका व्यक्ति हुन्। अमेरिकाले उनको टाउकोको मोल ५ मिलियन अमेरिकी डलर तोकेको थियो।

प्रतिक्रिया