प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतले कालापानीमा रहेका भारतीय सुरक्षाकर्मीलाई यथाशीघ्र हटाउन सरकारलाई निर्देशन दिएको छ।
समितिले ‘भारतद्वारा अतिक्रमित भूमिबाट भारतीय सुरक्षाकर्मीलाई यथाशीघ्र हटाउन’, लिम्पियाधुरा, लिपुलेकलगायत कालापानी क्षेत्रमा नेपालको सुरक्षा र प्रशासनिक उपस्थिति कायम गर्न उच्च तहबाट राजनीतिक, कूटनीतिक र अन्य आवश्यक कार्य गर्न’ सरकारलाई निर्देशन दिएको हो।
समितिले आइतबार र सोमबार परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली एबम भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालसँग छलफल गरेको थियो। समिति बैठकमा अधिकांश सांसदहरूले नेपालले नक्सा प्रकाशित नगरेकोमा आपत्ति जनाएका थिए। त्यस क्रममा समितिले नेपाली भूमिमा अतिक्रमण गरी भारतले सडक निर्माण गर्नु अन्तर्राष्ट्रिय कानुनविपरीत भएको ठहर गर्दै भारतद्वारा अतिक्रमित नेपाली भू-भागलाई समेटेर नेपालको नक्सा अवलम्ब प्रकाशित गर्न समेत निर्देशन दिएको छ।
समिति बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारतसँगको सीमा नियमन गर्न आवश्यक परे काँडेतार र पर्खाल लगाउन समेत सुझाएका थिए।