बिहान दौड्न निस्केका नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिस बेपत्ता

बिहान दौड्न निस्केका नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिस बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३० बैशाख २०७७
  • 4.9K
    Shares

राजदूत रिचर्ड मोरिस

नेपालका लागि बेलायतका पूर्व राजदूत रिचर्ड मोरिस बेपत्ता भएका छन् । बिहान दौड्न निस्केका ५२ वर्षीय मोरिस बुधबार ६ मे बिहान १०:३० बजेदेखि ह्याम्पसायरस्थित फर्नहामको बेन्टलीबाट बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीले रिचर्ड हुलिया ६ फिट अग्लो, श्वेत वर्णको, फुलेको कपाल र दाह्री पालेको बताएको छ । उनको अनुहारमा जन्मचिन्ह भएको बताइएको छ । उनले लामो बाहुला भएको नीलो जीपर भएको टप, कालो हाफ पाइन्ट र नीलो जुत्ता लगाएको प्रहरीले बताएको छ ।

प्रहरीले उनको खोजीका लागि सर्वसाधारणसँग अपील गरेका छन् । बुधबार साँझ एक अपील प्रकाशित गर्दै प्रहरीले ‘हामीले यसै साँझदेखि उनको खोजी गरिरहेका छौँ तर अब तपाईहरुसित पनि सहयोगका लागि अपील गर्दछौँ ।’

प्रहरीले छरछिमेकका बासिन्दाहरुलाई आ–आफ्ना घरका बगैंचा, भण्डार गृह आदिमा चेक गर्न आग्रह पनि गरेको छ । कुनै स्थानीय बासिन्दा वा व्यवसायसँग सीसीटिभी फुटेज भए उपलब्ध गराउन पनि प्रहरीले आग्रह गरेको छ ।
प्रहरीले खोजी कार्यमा सघाइरहेका हयाम्पसायर सर्च एण्ड रेस्क्यू टोलीका स्वयंसेवकहरुलाई धन्यवाद पनि दिएको छ ।

उनले नोभेम्बर २०१५ देखि नोभेम्बर २०१९ सम्म नेपालमा ब्रिटिस राजदूतको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । ब्रिटिस सरकारले उनलाई फिजी गणतन्त्रका लागि आउँदो जुलाई महिनादेखि कार्यभार सम्हाल्ने गरी उच्चायुक्त तोकेको थियो । उनी श्रीमती र तीन बालबच्चाका साथमा बस्दै आएको बताइएको छ ।

बेलायतको विदेश मन्त्रालय (एफसीओ) मा प्यासिफिक डिपार्टमेन्ट प्रमुख भएर काम गरिसकेका मोरिस सम्पर्कविहीन भएको खबरले आफूहरु चिन्तित भएको भन्दै एफसीओले उनी छिट्टै सकुशल भेटिने अपेक्षा व्यक्त गरेको छ ।

नेपाललाई माया गर्ने रिचर्डले नेपालमा महाभूकम्पपछि बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमण संयोजनमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए । विशेषगरी ब्रिटेन नेपाल च्याम्बर अफ् कमर्स प्रतिनिधिसँग निकट थिए मोरिस ।

प्रतिक्रिया