भारतले नेपाली भूमिमा एकतर्फी बाटो बनाएकोमा स्थानीय बासिन्दा आश्चर्य चकित, बिद्रोही ने.क.पा. लगायत नेपालका संसदीय दलहरुको बिरोध

भारतले नेपाली भूमिमा एकतर्फी बाटो बनाएकोमा स्थानीय बासिन्दा आश्चर्य चकित, बिद्रोही ने.क.पा. लगायत नेपालका संसदीय दलहरुको बिरोध


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ बैशाख २०७७
  • 5.8K
    Shares

भारतले नेपाली भूमिमा एकतर्फी रुपमा बनाएको सडक

भारतले एकतर्फी रुपमा नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेकोमा विभिन्न राजनीतिक दलहरुले बिरोध जनाएका छन् तर नेपाल सरकारले आधिकारिक रुपमा आफ्नो धारणा सार्वजनिक नगरेपनि लिपुलेकमा भारतले सडक खोलेको विषयमा थप जानकारी लिन दूतावासलाई निर्देशन दिएको खबरहरु सार्वजनिक भएका छन्।  भारतीय सञ्चार माध्यममा तवाघाट–लिपुलेक सडक उद्घाटन गरेको समाचार आएपछि यहाँका सरकारी निकायलगायत स्थानीय चकित भएका छन् ।

भारतले एकतर्फी रुपमा नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग उद्घाटन गरेको समाचार सार्वजनिक भए लगत्तै बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एबम सेती महाकाली इन्चार्ज ओमप्रकाश पुनले सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै “नेपाली सार्वभौमिकता माथिको नाङ्गो हस्तक्षेप  हो” भनेका छन्। उनले नेपालको सिमा मिचेर एकतर्फी रुपमा  गरिएकोमा आपत्ति प्रकट गर्नुका साथै भर्त्सना पनि गरेका छन्। उनले यसको सम्पूर्ण देशभक्त नेपालीहरुले डटेर सामना गर्नुकाे बिकल्प नरहेको’ पनि जिकिर गरेका छन्। विश्व नै कोरोना भाइरस संक्रमणले तहसनहस भएको बेला संसदीय पार्टीहरु भ्रस्टाचारमा लिप्त भएको र त्यही मौका छोपी भारतले नेपाली भुमि मिचेर धार्मिक मार्ग उद्घाटन गरेको उल्लेख गर्दै नेता पुनले “कति दिन यस्तो अपराध र अन्यायलाई सहेर मुकदर्शक भै बस्ने ?” भनेर नेपालि जनतालाई प्रतिप्रश्न गरेका छन्।  उनले सम्पूर्ण देशभक्त र क्रान्तिकारी शक्तिहरु एकजुट हुन् ढिला गर्न नहुने कुरामा जोड दिंदै राष्ट्रिय मुक्ति आन्दोलन र समाजवादी क्रान्तिकाे कार्यभारलाई संगसंगै पुरा गर्न पनि आव्हान गरेका छन्। 

@om prakash Pun : भारतका रक्षामन्त्री राजनाथ सिंहले आज बैशाख २६ गते शुक्रबारको दिन भिडियो कन्फरेन्स मार्फत कालापानी, लिम्पियाधुरा, लिपुलेक हुदै तिब्बतको मानसरोवर जाने सडकको उद्घाटन गरे । जाे भुमि नेपालकाे हाे र लामो समय देखि यसमा भारतले सैनिक हस्क्षेप गरिरहेको छ । गत नाेभेम्बरमा भारतले एकलौटी यश क्षेत्रको नक्सा आफ्नो भनी सार्वजनिक गरेको थियो र यसको सर्वत्र बिराेध पनि भएको थियो, जाे अहिले पनि अध्यावधी जारी नै छ । तर अहिले फेरि भारतले नेपाललाई कुनै सराेकार नराखी एकलौटी धार्मिक मार्ग उद्घाटन गरेको छ । याे नेपाली सार्वभौमिकता माथिको नाङ्गो हस्तक्षेप हाे । अहिले काेराेना भाइरसकाे महाब्याधीले बिश्वलाई नै आतंकित पारिरहेको बेला छिमेकी देशले पारस्परिक सहयोग र संबन्धलाई थप उचाइमा पुर्याउने बेला भारतीय साम्राज्यवादी सत्ताले नेपालकाे सार्वभौमसत्ता माथि ठाडो हस्क्षेप गर्नु निकै निन्दनीय र भर्त्सना याेग्य सवाल हाे । यसको सम्पूर्ण देशभक्त नेपालीहरुले डटेर सामना गर्नुकाे बिकल्प छैन । यसरी एकातिर काेरा भाइरसकाे संकट र अर्काेतिर भारतिय साम्राज्यवादकाे एकपछि अर्को हस्क्षेप भैरहेको बेला नेपालका दलाल संसदवादी शक्तिहरु भने कुर्सी काे लुछाचुडी र भ्रष्टाचारमा लिप्त भएका छन् । सत्ता पक्ष कुर्सी बचाउने खेलमा लाजमर्दो हर्कत र भ्रष्टाचार गरिरहने र प्रतिपक्ष भागबन्डा पाउछु कि भनी मुकदर्शक भैरहने कथित संसदीय दाउपेचका कारण आज राष्ट्रियता, जनतन्त्र र जनजिविकाकाे समस्या नेपाली जनताले एकैपटक भाेग्नु परेको छ । जनताहरु लकडाउनका कारण देश बिदेशमा अलपत्र छन् , केपी वलीकाे दलाल सरकारलाई कुनै मतलब छैन । राष्ट्रियता यत्रो खतरामा परेको छ, एक शब्द बाेल्नु छैन । मजदुर र श्रमिकलाई नाे वर्क नाे पेकाे निति लागू गर्छन् तर शासकहरु आफू घरमै बसेर तलब भत्ताको सेवासुबिधा लिन्छन् । कति दिन यस्तो अपराध र अन्यायलाई सहेर मुकदर्शक भै बस्ने ? तसर्थ अब नेपाली जनताले ढिला नगराै । सम्पूर्ण देशभक्त र क्रान्तिकारीहरु जुटाै र उठाै । राष्ट्रिय मुक्ति आन्दोलन र समाजवादी क्रान्तिकाे कार्यभारलाई संगसंगै पुरा गराै ।

नेपाली राजनीतिक इतिहासमा सधैं भारतपरस्त भनेर आरोप खेपेका पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले त हिजोदेखि शुरु भएको संसदमा यस बारेमा कुरा उठाए। उनले संसदमा बोल्दै “त्यस भुमि बिबादित भएको अवस्थामा दुइपक्षिय छलफल नगरी एकतर्फी मार्ग खोल्दा अर्को तनाब उत्पन्न हुने” बताए। उनले सबै राजनीतिक दल एकजुट भएर त्यस बारेमा बोल्नुपर्नेमा जोड दिंदै अन्यथा आगामी दिनमा झन् संकटमा पर्न सकिने संकेत गरे।  तर उनले कस्तो संकट हो भन्ने बारेमा खुलाएनन।

संसदमा राजावादी पार्टी भनेर चिनिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाली भुमि अतिक्रमण गरी भारतले मानसरोबर जाने बाटो बनाएकोप्रति बिरोध गरेका छन्।  उनले नेपाली भूभाग अतिक्रमणबारे सरकारले आवश्यक कदम चाल्नुपर्ने धारणा राखेका छन् ।

लिम्पियाधुरा/लिपुलेक लगायतका नेपाली भूभाग अतिक्रमण हुँदा पनि सरकार उदासीन बनेको आरोप लगाउंदै, “‘लिम्पियाधुरा/लिपुलेक नेपाली भूमि हो । त्यहाँ रहेका भारतीय सेना फिर्ता गर्नुको सट्टा लिपुलेकसम्म बाटो बनाई यातायातको निमित्त खोलिएको तथ्य सार्वजनिक भएको छ’ पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका थापाले ट्विटरमा लेखेका छन्, ‘भारत सरकारको यस कार्यको भत्सर्ना गर्दछु । नेपाल सरकारको उदासीनता खेदजनक छ । यसबारे अविलम्ब आवश्यक कदम चाल्न सरकारसँग माग गर्दछु ।’

रास्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का नेता प्रकाश चन्द्र लोहनीले पनि यस कार्यको बिरोध गरेका छन्। उनले सामाजिक संजाल फेसबुकमार्फत बिरोध गरेका हुन्।  उनले आफ्नो भुमि हुँदै भारतले बाटो बनाउदा सरकार मौन बसेकोमा आश्चर्य प्रकट गर्दै के नेपाली भूमिमा एकतर्फी रुपमा सडक बनाउन सरकारले भारतलाई स्वीकृति दिएको हो भनी प्रसं गरेका छन्।

सन् १८१६ मा भएको सुगौली सन्धि अनुसार लिम्पियाधुरा मुहान भएको काली (महाकाली) पूर्वका सम्पूर्ण भूभाग नेपालको हो । सर्वे अफ इन्डियाले सन्धि विपरीत नेपाली भूभागसमेत भारततर्फ पर्ने गरी नक्सा सार्वजनिक गरेको थियो ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ । नेपाली पक्षसँग कुनै सल्लाह नगरी निर्माण गरिएको उक्त सडकको शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका हुन् ।

भारतले २०१९ को नोभेम्बरमा नयाँ राजनीतिक नक्सा जारी गर्दै नेपाली भूमि मिचेपछि उत्पन्न समस्या कूटनीतिक माध्यममार्फत समाधान नभइरहेको अवस्थामा फेरि नेपाली भूमिमै चीनसँग सीमा जोड्ने नाकासम्म सडक मार्ग निर्माण गरेपछि समस्या उत्पन्न भएको छ ।

सिंहले भारतको भारतको उतराखण्डको धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्गको भारतीय सेना प्रमुखसहित उपस्थित रहेको कार्यक्रममा उद्घाटन गरेका हुन् । सिंहले उक्त सडक निर्माण गरेकोमा भारतको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) लाई धन्यवादसमेत दिएका छन् । सिंहले ट्वीट गर्दै बीआरओले सीमा जोड्नको लागि केही वर्षदेखि उत्कृष्ट काम गर्दै आएकोमा धन्यवाद समेत दिएका छन् ।

उक्त लिपुलेक क्षेत्र नेपाल–भारत सीमानाको लिम्पियाधुरा क्षेत्रदेखि निकै वर नेपाली भागमा रहेको सीमाविद् बुद्धिनारायण श्रेष्ठले बताए । ‘उक्त ठाउँ लिम्पियाधुराभन्दा निकै वर पर्छ । त्यसको मतलब उक्त भूमि शतप्रतिशत सोह्रै आना नेपालकै हो,’ सीमाविद् तथा नापी विभागका पूर्व महानिर्देशकसमेत रहेका श्रेष्ठले भने । उनले पिथौरागढ भारततर्फ भए पनि गुन्जी र लिपुलेक नेपाली क्षेत्रमा भारतीय छिरेर बाटो निर्माण गर्नु गलत भएको बताए ।

श्रेष्ठले यसअघिको सीमा अतिक्रमणदेखि अन्य सीमा विवाद र अहिलेको समस्यालाई कूटनीतिक माध्यमबाट नेपाल सरकारले भारत सरकारसँग कुरा गरेर छिटोभन्दा छिटो समाधान गर्ने पर्ने सुझाव दिए । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार लिपुलेकसम्म सडक पुगेको विषयमा नेपाल सरकारलाई हालसम्म केही जानकारी छैन । ती अधिकारीले भने, ‘यस विषयमा बुझेर प्रतिक्रिया दिउँला ।’

नेपाली भूभागमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो भूभाग गर्दै नयाँ राजनीतिक नक्सामा राखेर सार्वजनिक गरेपछि विवाद भएको थियो । त्यसपछि नेपालले भारतलाई कूटनीतिक माध्यमबाट संवाद गर्नका लागि पत्राचार पनि गरेको थिथो । भारतले वार्ता गर्ने बताए पनि बैठकको मिति तय नहुँदा अहिलेसम्म दुई मुलुकका परराष्ट्र सचिवस्तरीय वार्ता हुन सकेको छैन । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका दौरान दुई मुलुकबीचका सीमाना समस्यालाई परराष्ट्र सचिवस्तरीय संयन्त्रले वार्ता गरेर समाधान गर्ने निर्णय गरेको थियो ।

सन् १८१६ मा नेपाल र तत्कालिन ब्रिटिस इन्डियाबीच भएको सुगौली सन्धिअनुसार नेपाल र भारतबीचको पश्चिमी क्षेत्रमा सीमानाको उद्गमविन्दु लिम्पियाधुरा हो, जहाँबाट काली नदी बग्छ । लिम्पियाधुरा समुन्द्री सतहबाट झन्डै ५ हजार ५ सय ३२ मिटर उचाइमा छ ।

२०७२ सालको जेठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका दौरान मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच भएका सहमतिमध्ये एक बुदाँमा लिपुलेकलाई भारत…–चीनबीचको व्यापारिक नाकाको रुपमा विकास गर्ने सहमति भएको थियो । उक्त सम्झौताबारे नेपाल बेखबर थियो । त्यसपछि नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयले उक्त सम्झौताका विषयमा दुवै मुलुकलाई कूटनीतिक नोट लेखे पनि हालसम्म जवाफ आउन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार