जातीय विभेदको उजुरी कार्यान्वयनमा ढिलाई :ध्यानाकर्षण गराउन पुगेका पत्रकार दलितकर्मीलाई प्रहरी अधिकृतहरुद्वारा दुरब्यबहार

जातीय विभेदको उजुरी कार्यान्वयनमा ढिलाई :ध्यानाकर्षण गराउन पुगेका पत्रकार दलितकर्मीलाई प्रहरी अधिकृतहरुद्वारा दुरब्यबहार


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ बैशाख २०७७
  • 8.2K
    Shares

प्रनि नरहरि अधिकारी पत्रकार प्रेम नेपालीलाई औंलो थद्याउदै

जातीय विभेद गर्ने अभियुक्तलाई कारबाही गर्न ढिलाई भएपछी प्रहरीको ध्यानाकर्षण गर्न गएका दलित्कर्मी र पत्रकारलाई जिल्ला प्रहरी कार्यालाया कास्कीका अधिकृतहरुले दुरब्यबहार गरेका छन्।

पोखरा १६, वाटुलेचौरमा सार्वजनिकस्थानमा वनेको किरियापुत्री भवन प्रयोग गर्न नदिएको भन्दै स्थानीय तीन जनाविरुद्ध पिडित मोहन सुनारले जिल्ला प्रहरी कार्यालय कास्कीमा गएको बैशाख १९ गते जातीय भेदभाव सम्बन्धि उजुरी दिएका थिए।

उजुरीमा उनले आफ्नो भाइ समर सुनारको बिदेशमा मृत्यु भएकोमा किरिया बस्न सोही ठाउँमा रहेको किरियापुत्री भवन मागिएकोमा जातीय भेदभाव गरी सार्वजनिक भवन प्रयोग गर्न नदिइएको उल्लेख गरेका छन्।  साथै उनले आफुलाई कानुन विपरीत जातीय छुवाछुत तथा विभेद गर्नेहरुलाई पक्राउ गरी कानूनी कारवाही गर्न माग गरेका छन्।

जातिय विभेदको जाहेरी परेको पाँच दिनसम्म प्रहरीले आरोपिहरुलाई छानवीनको दायरामा नल्याएपछि कार्वाहीको वारे चासो राख्न पुगेका पत्रकार प्रेम नेपाली लगायत पीडित र दलित प्रतिनिधिहरुलाई मंगलवार कास्की प्रहरीका अधिकृतहरुले दुरव्यवहार गरेका थिए।

जातिय विभेदको जाहेरी परेको पाँच दिनसम्म प्रहरीले आरोपिहरुलाई छानवीनको दायरामा नल्याएपछि कास्की प्रहरीको ध्यानाकर्षण गराउन पुगेका दलितकर्मी र पिडितहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षकद्वय नरहरि अधिकारी र दिपक केसीले दुरब्यबहार गरेको पिडित पक्षले आरोप लगाएका छन्।  ती प्रहरी अधिकृतहरुले पिडित पक्षलाई हुल बाँधेर आई अनुसन्धानमा प्रभाव पार्न खोजेको भन्दै काम कार्वाही नहुने धम्की दिएको बताइएको छ।

शान्तिपूर्ण ढंगले हुल हुज्जत नगरिकन घटना वारे चासो राख्न पुग्दा प्रहरी आक्रामक र अभद्र शैलीमा प्रस्तुत भएपछि पीडित पक्ष र दलित जनप्रतिनिधिले आपत्ति जनाएका थिए ।

कास्कीका डिएसपी राजकुमार केसीले अधिवक्ता शिव सुनारको घाँटीमा झुण्डाईएको अधिवक्ताको कार्डलाई देखाउँदै वकिलको कार्ड आफुसँग पनि भएको भन्दै कानुन वारे सुनारलाई आवश्यक भन्दा धेरै जान्ने भन्दै होच्याएर वोलेका थिए । केसीले घटनास्थलको मुचुल्का उठाएर कार्वाही प्रकृया अघि वढाईएको भन्दै चासो राख्न पुगेकाहरुलाई नआत्तिन आग्रह गरेका थिए ।

पत्रकार प्रेम नेपालीमाथि पनि दुरब्यबहार 

यसैबीच जातिय विभेदको घटना वारे चासो राख्न पुगेका दलित प्रतिनिधिहरुमाथि प्रहरीले अस्वभाविक, हप्की, दप्की गर्ने शैलीमा प्रस्तुत भएको घटनाको समाचार संकलन गर्न पुगेका पत्रकारमाथि समेत प्रहरीले दुव्र्यवहार गरेको छ ।

आमा पव्लिकेशन्सद्धारा संचालित आवर अल न्यूज डट कम र आवर टीभीका प्रधान सम्पादक प्रेम नेपालीले घटनाको दृश्य कैद गर्न क्यामरा निकालेर अन गर्ने वित्तिकै प्रहरीले ठाडै हस्तक्षेप गरी क्यामरा खोस्ने प्रयास गरेको थियो ।

जातिय विभेदवाट पीडित मोहन सुनारसँग अभद्र शैलीमा प्रस्तुत हुँदै गरेका प्रहरी निरीक्षक नरहरी अधिकारीले पत्रकारको प्रेस लेखिएको ज्याकेट र छात्तिमा स्पष्टसँग पत्रकारको परिचय पत्र देख्दा देख्दै ‘किन खिचेको’ भन्दै क्यामरा खोस्न आई लागेका थिए । सँगै रहेका अर्का प्रहरी निरीक्षक दिपक केसीर्ले ‘हाम्रो अनुमति नलिइकन कसले भनेर भिडियो खिचेको ? हामीलाई नसोधिकन खिच्ने, वन्द गर,’ भन्दै क्यामरा खोस्न पछ्याईरहेका थिए । प्रहरीको अनुमति विना सार्वजनिक स्थान होस वा जहासुकै होस तस्वीर र भिडियो खिच्न नपाईने भन्दै धम्काएर नखिच्न भन्दै प्रहरी निरीक्षक केसीले प्रहरीले दलित जनप्रतिनिधिमाथि गरेको अभद्र र आक्रामक शैलीको भिडियो लिन अवरोध खडा गरेका थिए ।

पत्रकारमाथि भएको दुरब्यबहारको ब्यापक बिरोध 

यसैबीच पत्रकार प्रेम नेपालीमाथि प्रहरीद्वारा भएको दुरब्यबहारको पत्रकारितासंग सम्बन्धित बिभिन्न संघ संस्थाले बिरोध गर्दै दोषीमाथी कारवाहीको माग गरेका छन्।  यसरी कारवाही माग गर्ने संघ संस्थाहरुमा नेपाल पत्रकार महासंघ कास्की, राष्ट्रिय दलित पत्रकार संघ, गण्डकी लगायत छन्।

आरोपित तीनजना पक्राउ 

ब्यापक दबाब र तिकातिप्पनी पछि कास्की प्रहरीले आरोपित तीन जनालाई मंगलबार बेलुका पक्राउ गरेको छ।  कास्की प्रहरीले किरियापुत्री भवन निर्माण समितिका अध्यक्ष रामबहादुर जिसी, स्थानीय देबबहादुर थापा र जनक थापालाई पक्राउ गरेको समाचार स्रोतले जानकारी दिएको छ।  तर यस बारेमा कास्की प्रहरीले आधिकारिक रुपमा केही बोलेको छैन।

घटना के हो ?

पोखरा १६, वाटुलेचौरमा सार्वजनिकस्थानमा वनेको किरियापुत्री भवन प्रयोग गर्न मोहन सुनारले चावी माग्दा कथित ठुलो जाति भन्ने केहि व्यक्तिले आफ्नो समुदायले बनाएको किरियापुत्री भवन प्रयोग गर्न दलितलाई दिन नमिल्ने भन्दै प्रयोग गर्नवाट वन्चित गरिएको थियो।  त्यसपछि पीडितले गत १९ गते प्रहरी कहाँ जाहेरी दिन पुगेका थिए । स्थानीय क्षेत्री समाजको अगुवाईमा सार्वजनिकस्थलमा वनेको भवनमा पोखरा महानगरपालिका, वडा कार्यालय १६ ले समेत वजेट निकासा गरेका छन ।

पोखरा महानगरपालिका वडा नं १६ का वडा सदस्य मेहरमान थापाले मोहन सुनारले चावि मागेपछि छलफल गर्न जुटेको भेलामा दलितलाई दिन नहुने भन्दै केहि व्यक्तिले विरोध गरेपछि दिनुपर्छ र दिनु हुँदैन भन्ने विच विवाद भएको थियो ।

(यस अघि यसै समाचारको शिर्षकमा दलितकर्मी हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ र भुलबस अन्यथा हुन् गएकोमा क्षमा प्रार्थी छौं – सम्पादक )

प्रतिक्रिया