जातभात, उमेर र कानुनको परिधि नाघेर बच्चा पाउने अधिकार खोज्दै कानुनको घेरामा चोखो माया प्रेम

जातभात, उमेर र कानुनको परिधि नाघेर बच्चा पाउने अधिकार खोज्दै कानुनको घेरामा चोखो माया प्रेम


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ बैशाख २०७७
  • 4.4K
    Shares

मनिष साह र कबिता राम

सच्चा र चोखो मायालाई न कानुनले छेक्छ, न उमेर अनि कुटपिट र यातनाले, न त जाताभातले नै।  सप्तरी  जिल्लाको कञ्चनरुप–९ रुपनगरका २० वर्षीय मनीष साहसंग चोखो र गहिरो माया जालमा परेकी सोही वडाको धरमपुरकी १८ वर्षीया कविता राम अहिले प्रहरीको घेरामा नौ महिनाको गर्भसहित राजविराजस्थित अञ्चल अस्पताल उपचार गरिरहेकी छिन । उनले अस्पतालको बेडमा बसेर शान्तपूर्वक बच्चा पाउने अधिकार खोजिरहँदा उनका श्रीमान् मनिष साह भने अहिले बाल बिबाह गरेको आरोपमा प्रहरी हिरासतमा छन्।

आफु दलित भएकै कारण श्रीमान मनिषसँग छुट्टाउन मनिषका बुबा शिवनारायणले अनेक तिकडम गरिरहेका छन्।  तर उनीहरुले त्यसको प्रतिबाद गर्दै संगै मर्ने, संगै बाँच्ने आफुहरुको कसमलाई झन् बलियो बनाउदै लगिरहेका छन्।

पुस २१ गते घरबाट भागेदेखि नै दुवैलाई छुटाउन मनीषका अभिभावकले प्रयास गर्दै आएका छन्। परिवारको सहमतिबिना सुनसरीको इनरुवामा घरजम गरेर बसेका मनीष र कविताले ठेगाना पत्ता लगाएर शिवनारायणले दुवैलाई अलग पनि गराए। अलग गराए पनि मनीष भागेर माइत विस्थापित कवितासँगै बस्न गए।

प्रहरी कार्यालयमा पटक–पटक भएको छलफलपछि विवाह गर्न कविताको उमेर नपुगेको भन्दै दुवैलाई माघ २८ गते घरपरिवारको जिम्मा लगाइयो। तर, मनीष र कविताले फागुन १ गते हनुमाननगर कंकालिनी–१ भारदहस्थित कंकालिनी भगवती मन्दिरमा प्रेम विवाह गरेर पुनः सँगै बस्न थालेपछि साह पक्षले कुटपिट र डर–त्रास देखाएर अलग गराउन खोजे।

दुवै जना छुट्टिन नमानेपछि शिवनारायणले कविताका बुवा विनोद रामविरुद्ध अदालतमा अपहरण तथा शरीर बन्धकको मुद्दाका लागि बन्दीप्रत्यक्षीकरणको रिट दिए। कविता र मनीषलाई उनीहरूका अभिभावकले आ–आफ्नो जिम्मामा बुझी लगेको कागज देखाएपछि अदालतले फागुन २८ गते सो रिट खारेज गरेको थियो। हरेक ठाउँमा कविता र मनीष दुवैले आफूहरूले राजीखुसीले विवाह गरेको बयान दिँदै आएका छन्।

सँगै जिउने–मर्ने भनेर आदर्श विवाह गरेको जोडीलाई अलग गर्ने उद्देश्यले शिवनारायणले कञ्चनरुप नगरपालिकाको न्यायिक समितिमा उजुरी गरे। न्यायिक समितिमा मनीषले कवितासँगै जीवन बिताउने दोहो¥याएपछि उनीहरूमाथि हातपातसमेत भएको मनीषले बताए। न्यायिक समितिले समेत मनीष र कवितालाई चैत १३ गते आ–आफ्नो अभिभावकको जिम्मा लगाए पनि परिवारसँग जान इन्कार गर्दै मनीष कवितासँग बस्दै आएका छन्।

कविताका बुवा, आमाविरुद्ध दिएको बन्दी प्रत्यक्षीकरण रिट अदालतले खारेज गरेपछि शिवनारायणले उच्च अदालत जनकपुरको राजविराज इजलासबाट परमादेश गराई बिहीबार बालविवाहविरुद्ध उजुरी दर्ता गरेका थिए । मनिषका बुबा शिबनारायणको उजुरीका आधारमा प्रहरीले मनिष साह र उनकी गर्भवती श्रीमती कबिता रामलाई पक्राउ गरेको छ।

प्रहरी हिरासतमा रहेकी कविताको स्वास्थ्य अवस्था बिग्रिएपछि उनको अहिले राजविराजस्थित अञ्चल अस्पताल उपचार भइरहेको छ। आफ्नो पेटमा नौ महिनाको बच्चा रहेको जानकारी दिँदै अस्पतालमा उपचाररत कविताले यस्तो बेलामा श्रीमान्सँग शान्तिपूर्ण रूपमा बस्न पाउने र भयमुक्त वातावरणमा बच्चा जन्माउन पाउने अधिकारको गुहार लगाइन्। आफ्नो परिवार र गर्भमा हुर्किरहेको सन्तानको जीवनरक्षाका लागि याचना गर्दै कविताले भनिन्, ‘दलित भएकैले प्रेमविवाह गर्ने र सन्तान पाउने अधिकारमाथि एकपछि अर्को आक्रमण भइरहेको छ।’

स्वास्थ्य परामर्श र उपचारको आवश्यकता रहे पनि नौ महिनाकी गर्भवतीलाई प्रहरी हिरासतमा थुनेर गर्भको बालकमाथि समेत अन्याय भएको भन्दै कविताकी आमा शान्तिदेवीले दलित भएकै कारण एकपछि अर्को मुद्दा खेप्नुपरेकाले कानुनी संरक्षणको माग गरिन्।

प्रतिक्रिया