राहत वितरण सूचीमा वास्तविक पिडित नदेखिएपछि स्थानीय बासिन्दाको बिरोध, प्रहरी हस्तक्षेप पछि मिर्चैया तनाबग्रस्त, प्रहरी प्रमुखसहित आठ जना घाइते

राहत वितरण सूचीमा वास्तविक पिडित नदेखिएपछि स्थानीय बासिन्दाको बिरोध, प्रहरी हस्तक्षेप पछि मिर्चैया तनाबग्रस्त, प्रहरी प्रमुखसहित आठ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ बैशाख २०७७
  • 3.7K
    Shares

सिरहाको मिर्चैया ७ फुलबरियामा वितरण भैरहेको राहत कार्यक्रममा झडप

राहत पाउनुपर्ने सूचीमा वास्तविक विपन्न परिवारको नाम छुटाएको भन्दै भएको विवादमा प्रहरी हस्तक्षेप हुँदा इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी सन्तु जैसवालसहित आठ जना घाइते भएका छन्।

सिरहाको मिर्चैया नगरपालिका ७ फुलबरियामा वितरण भैरहेको राहत कार्यक्रममा राहत पाउनेको सूचीमा वास्तविक पिडितको नाम समाबेश नभएको भन्दै केही स्थानिय बासिन्दाले बिरोध गरेका थिए।  स्थानीयका विरोधका बावजुत वडा कार्यालयले राहत वितरण शुरु गरेपछि स्थानीयले गरेको ढुङ्गामुढालाई नियन्त्रणमा लिन प्रहरीले नौ राउण्ड हवाईफायर र तीन राउण्ड अश्रृग्याँस प्रहार गरेका थियो ।

सोही क्रममा  प्रहरीतर्फ इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी सन्तु जैसवाल, प्रहरी सहायक निरीक्षक विरेन्द्र मण्डल, हबल्दार सरस्वती चौधरी, जवानद्वय मनिका अधिकारी र सावित्रा कुमाल सामान्य घाइते भएका छन्। प्रहरीको लाठी प्रहारबाट स्थानीय तीन जना पनि घाइते भएका छन् । सबैको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

स्थानीयका अनुसार राहत वितरणका विषयमा वडा कार्यालयमा विगत एक सातादेखि मतमतान्तर हुँदै आएको थियो । जनप्रतिनिधि र दलका प्रतिनिधिबीच मत मिलेपछि आइतबार इलाका प्रहरीमा सबै दलका प्रतिनिधि र जनप्रतिनिधिबीच समझदारी भएको बताइएको छ । तर, प्रहरीले करकापमा पारेर दलहरुलाई सहमति गर्न लगाएको दलका एक प्रतिनिधिकाे भनाइ छ ।

वडा कार्यालयले वडाभरीका दुई सय ७६ जना विपन्न परिवारलाई १२ किलोग्राम चामल, १ किलो दाल, नुन, स्वायविन र तेल सोमबार कार्यालय परिसरबाट वितरण सुरु गरेको थियो ।

राहत वितरण सकिन लाग्दा केही असन्तुष्ट समूहले ढुंगामुढा गरेको वडाध्यक्ष रामकुमार यादवले जानकारी दिए । छुटेका परिवारलाई पुन: राहत वितरण गरिने उनले जानकारी दिए ।

यसैगरी, सिरहाको सुखिपुर नगरपालिका-२ मा आइतबार राहत वितरणका क्रममा ढुंगामुढा भएको थियो । विपन्न परिवारका लागि वितरण गर्नुपर्ने राहत सूचीमा जग्गा जमिन भएका र जागिरे समेतलाई वितरण गरेको भन्दै असुन्तुष्ट स्थानीयको समूहले कार्यालयमा ढुंगामुढा गरेका थिए ।

प्रतिक्रिया