बन्दीलाई स्थान परिवर्तन नगर्नू भनी सर्बोच्च अदालतले दिएको आदेश विपरीत बिद्रोही ने.क.पा. की केन्द्रीय सदस्य एबम अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई प्रहरीले आज दाङबाट फेरी गिरफ्तार गरेर कपिलवस्तु लगेको छ ।
दाङको वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा रहेकी महिला नेत्री चन्दलाईआइतबार जिल्ला प्रशासन कार्यालय दाङले दुइ हजार रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । जिल्ला प्रशासन कार्यालयले तोकेको धरौटी रकम राखेपछि प्रहरीले फेरी गिरफ्तार गरेर कपिलवस्तु लागेको बताइएको छ।
नेत्री बन्धु चन्दको तर्फबाट छोरा प्रतीक चन्दले दायर गरेको बन्दी प्रत्यक्षीकण मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गर्दै ‘बन्दीलाई स्थान परिवर्तन नगर्नू’ भनी आदेश दिएको छ । तर अदालतको आदेशविपरीत ठाउँ परिवर्तन गरी कपिलवस्तु लगिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनुअघि २०७५ साल फागुन ११ गते प्रहरीले चन्दलाई अछामबाट गिरफ्तार गरेर अहिलेसम्म विभिन्न जिल्लामा घुमाइरहेको छ । चन्दलाई अछाम, बाँके, बर्दिया, कैलाली, पुनः बर्दिया, पुनः बाँके हुँदै दाङका जेल र हिरासतमा राखिएको थियोे । उनलाई यसरी पटकपटक गिरफ्तार गरी जेल र हिरासतमा राखिरहने कुनै पनि प्रमाण नभेटिएको भन्दै पटक-पटक जिल्ला प्रशासन कार्यालयहरुले छोड्न आदेश दिँदै आएका भए पनि ‘माथिको आदेश’ भन्दै प्रहरीले बारम्बार गिरफ्तार गरिरहेको छ ।
कोरोना भाइरस सङ्क्रमणको सन्त्रासका कारण देश लकडाउनमा रहेको समयमा प्रहरीले भने नेपाल कम्युनिस्ट पार्टीका नेतालाई गिरफ्तार गरेर एक जिल्लाबाट अर्को जिल्लामा लगिराखेको छ ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सेक्रेटरी भगवानराजले एक बिज्ञप्ति जारी गरी अनेमसंघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दलाई फेरी गिरफ्तार गरिएकोमा आपत्ति जनाएका छन्। उनले ‘केही जिल्लाका प्रहरी सकारात्मक छन् तर दाङ जिल्ला प्रहरी प्रमुख जनक भट्टराई केपीका भक्त बनेर राजनीतिक पूर्वाग्रह राखी आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई अहिले पनि गिरफ्तार गरिरहेको’ टिप्पणी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा राजनीतिक पूर्वाग्रह राखेर प्रहरीले चन्दलाई गिरफ्तार गरेको आरोप लगाए।
स्मरण रहोस, केही दिनअघि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सुवाससहित चारजनालाई दाङ जिल्ला प्रहरीले पुनः गिरफ्तार गरे पनि बाँके प्रहरीले भने रिहा गरेको थियो ।