आदरणीय पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टाराईज्यु,
नेता, समाजवादी जनता पार्टी नेपाल
महोदय, आफ्ना सांसद अपहरण गर्नेबिरुद्ध मुद्दा गर्न खोज्दा मुद्दा दर्ता नभएपछि आक्रोशित हुँदै सामाजिक संजालमा , “ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’ भनेर लेखेको देखें। मलाई तपाइको त्यस्तो संदेश देख्दा सार्है दु:ख लाग्यो र चिन्ता पनि।
माननीय नेताज्यू, तपाइँ जस्तो देशको प्रधानमन्त्री भैसकेको व्यक्तिको पार्टीको हालत त यस्तो छ। जसको आफन्त नाता, कुटुम्ब कोही छैनन् र देशको दुरदराजमा बस्ने गरीब, किसान, मजदुर सुकुम्बासी लगायत सर्वहारावर्गको पक्षमा कसले बोलिदेला ? उनीहरुको अवस्था कस्तो होला ? कल्पना गर्नुस त।
माननीय नेताज्यू, यो प्रहरी तन्त्र वा ओलीतन्त्रको समस्या हैन। यो त केवल दलाल संसदीय व्यबस्थाको समस्या हो। दलाल संसदीय ब्यबस्थामा न गास, बास, कपासको ग्यारेन्टी हुन्छ, न त शिक्षा, स्वास्थ्य र सामाजिक न्यायको नै। जनताका आधारभूत आवस्यकतामा पर्ने यी बिषयहरुमा आधारभूत वर्गको पहुँच नै हुँदैन। तपाईं जस्तो उच्च घरानियादेखि देशी-बिदेशी शक्तिसम्म पहुँच हुने नेताको यस्तो हालत हुनुमा बिदेशी दलालहरुको हात छ भन्दा तपाई रिसाउनुहोला। माफ गर्नुहोला, वास्तविकता पनि यही हो र अर्को सत्य कुरा पनि भन्छु महाशय, रिसानी माफ होस्, “यो अपहरण मुद्दा दर्ता हुनु वा नहुनुमा सर्वसाधारण जनता अझ भनौ आधारभूत वर्गको कुनै लेना वा देना छैन। छ त केवल, को कुन चाहिं बिदेशी शक्तिको नजिक हुने र नेपाल आमालाई लुट्ने भन्ने कुरामा यो मुद्दा केन्द्रित छ।
महाशय! यहाँलाई प्रष्ट थाहा थियो, “दलाल संसदीय ब्यबस्थामा आधारभूत वर्गको जबर्जस्ती होस् या दबाबमा भोट हाल्ने बाहेक अरु पहुँच छैन। ” यस तथ्यलाई बिर्सेर किन दलाल संसदीय ब्यबस्थामा हाम फाल्न जानु भो ? के तपाइलाई लाग्छ, हिजो दश वर्षीय जनयुद्ध गलत थियो ? यदि थिएन भने नेपालमा सर्वहारावर्गको जनवादी राज्यसत्ता स्थापना गर्न भनि शुरु गरिएको जनयुद्धलाई किन बिसर्जन गरी आत्मसमर्पण गर्नु भो ? जुन ब्यबस्थामा न्याय पाउन सकिन्न भन्ने ज्ञान हुँदा हुँदै क्रान्तिकारी शक्तिलाई किन धोखा दिनु भो र आज फेरी न्यायको आशा गर्न सकिएन भनेर किन कोकोहोलो हाल्नुहुन्छ ?
आम नेपाली क्रान्तिकारी शक्तिहरुका लागि त्यो दलाल सत्तामा जो भए पनि उस्तै र उत्तिकै हो। आज तपाइँ त्यो सत्ताबाहिर बसेर न्याय पाउन सकिएन भनेर कोकोहोलो हाली रहनु भएको छ। भोलि तपाइँ सत्तामा पुगेपछि फेरी अरुले न्याय पाउन सकिएन भनेर रुन कराउन बाध्य हुनेछन। किनकि यो दलाल ससदीय व्यबस्थाको चरित्र र चक्र पनि हो।
महाशय! बास्तबमा नै तपाइँ सामाजिक न्याय सहितको बैज्ञानिक समाजवादी ब्यबस्था चाहनुहुन्छ भने यस दलाल संसदीय व्यबस्थाको घेराभन्दा बाहिर निस्कन सक्नुपर्छ। त्यसपछि बैज्ञानिक समाजवादी व्यवस्थाका लागि लडिरहेका शक्तिहरुसंग हात मिलाउदै फेरी आबस्यक परे ज्यानको बलिदानी दिनेसम्मको आत्मबल तयार गरेर युद्ध मैदानमा निस्कन सक्नुपर्छ। तब मात्र तपाइले सोचे जस्तो न्यायका लागि रुन नपर्ने बैज्ञानिक समाजवादी ब्यबस्था स्थापना हुनेछ।
अन्तमा, महोदय ! तपाइँ कुन बाटो रोज्ने ? सधैं आधारभूत आवस्यकताका लागि रोईरहने कि कहिल्यै रुन नपर्ने ब्यबस्था स्थापना गर्न केही दु:ख कस्ट सहने, तपाइको इच्छा। यदि तपाइँ आफु त्यो व्यवस्थाका लागि अहिल्यै लड्न सक्नुहुन्न भने पनि जसले लडिरहेका छन्, तिनलाई सहयोग र समर्थन गरेर आधारभूत वर्गको पक्षमा उभिन सक्नुहुनेछ। आशा छ, तपाइँ र तपाईं जस्ता बौद्धिक शक्तिले आधारभूत वर्गका लागि नेपालमा चलिरहेको संघर्षलाई अघि बढाउनमा मद्दत गर्नुहुनेछ। धन्यबाद।