संघीय संसदको सार्वजनिक लेखा समितिले विवादास्पद स्वास्थ्य उपकरण खरिद प्रक्रियामा भएको अनियमितताबारे छानबिन शुरु गरेको । समितिले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेर ७ दिनभित्र खरिदसम्बन्धी कागजात तथा विवरण उपलब्ध गराइदिन अनुरोध गरेको छ ।
कोरोना भाइरसको संक्रमण निण्न्त्रण गर्ने उद्देश्यले स्वास्थ्य सेवा विभागमार्फत विना प्रतिस्पर्धा ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनललाई स्वास्थय उपकरण खरिद गर्न दिएर आर्थिक अनियमितता भएको आशंका लेखा समितिले गरेको छ ।
समितिका सचिव डा सोमनाथ पाण्डेद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद गर्ने कार्य अघि बढाइएकोमा सो खरिद सम्झौता रद्द गरिएको बुझिन आएकाले यस सम्बन्धमा समितिले छानबिन कार्य अघि बढाउन आवश्यक देखेकाले सो सम्बन्धमा मन्त्रालयको प्रतिक्रिया र त्यसलाई पुष्टि हुने आवश्यक कागजात तथा खरिद प्रक्रियामा भए गरेको सबै कागजात ७ दिनभित्र समिति सचिवालयमा उपलब्ध गराइदिन हुन निर्देशानुसार अनुरोध छ ।
कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण खरिदका लागि सरकारले ओम्नी समूहसँग १ अर्ब २४ करोड रुपैयाँको ठेक्का सम्झौता गरेको थियो । गत चैत २० गते सो समूहले जहाज चार्टर गरेर स्वास्थ्य सामग्री ल्याएको थियो ।
स्वास्थ्य साम्रगीको मूल्य र गुणस्तरमा प्रश्न उठ्नुका साथै निर्धारित समयमा ल्याउन नसके पछि सरकारले ठेक्का रद्ध गर्दै ५ करोड धरौटी समेत जफत गरेको थियो ।
सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने १९ प्रकारका औषधि तथा औषधिजन्य सामान गत चैत २३ गतेभित्र ल्याउने गरी ओम्नी समूहलाई जिम्मा दिएको थियो ।
ओम्नी ग्रुपलाई प्रचलित मूल्य भन्दा २० प्रतिशत मंहगोमा औषधि तथा औषधिजन्य सामान ल्याउन ठेक्का दिएको र त्यसमा आर्थिक चलखेल भएको आशंका गरिँदै आएको छ । यसबारेमा छानविनका अख्तियारमा उजुरी समेत परेको छ ।