भारतबाट आई सुदूरपश्चिम प्रदेशका बिभिन्न क्वारेन्टाइनमा बसिरहेका १५ जना नेपालीमा औलो रोगको संक्रमण देखिएपछि क्वारेन्टाइनमा औलोको प्रकोप बढ्न सक्ने भन्दै स्वास्थ्य अधिकारी चिन्तित भएका छन्।
सन् २०२५ मा औलोमुक्त देश घोषणा गर्ने लक्ष्य लिएको अवस्थामा नेपालमा यस रोगका बिरामी भेटिएपछि स्वास्थ्य अधिकारी चिन्तित भएका हुन्।
गर्मी सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगले क्वारेन्टाइनमा बस्नेहरूलाई पिरोल्न थालेको छ। अन्य व्यक्तिमा पनि औलो देखिन सक्ने सम्भावना रहेकाले परीक्षण बढाइएको स्वास्थ्य सेवा विभागले जनाएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार क्वारेन्टाइनका अन्य व्यक्तिका पनि स्वाब नमुना संकलन कार्य भइरहेको छ। औलो संक्रमित मध्ये अधिकांश पुरुष रहेको र सबै व्यक्तिको उपचार भइसकेको उनले बताए। कतिवटा क्वारेन्टाइनमा बसिरहेका व्यक्तिलाई औलो देखिएको हो भनेर उनले खुलाएनन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले औलोका बिरामी भेटिएकाले क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने खाँचो रहेको बताए। मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा शनिबार प्रवक्ता डा. देवकोटाले गर्मीमा औलोले प्रकोपको रूप लिन सक्ने बताए। ‘गर्मी सुरु भएको छ। औलोको प्रकोप देखिने समय आउँदै छ’, उनले भने, ‘क्वारेन्टाइनमा रहेका व्यक्तिमा पनि औलोको परीक्षण गर्दा पोजिटिभ देखिएको छ। अब क्वारेन्टाइनमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ। गुणस्तरमा पनि वृद्धि गर्नुपर्ने हुन्छ।’
लकडाउनमा फुर्सद भएकाले व्यक्तिगत तथा वातावरणीय सरसफाइमा ध्यान दिन उनले आग्रह गरे। ‘घरभित्र र घर वरपर, करेसाबारीजस्ता ठाउँमा सरसफाइ गरौं। घरनजिकै पानी जम्ने ठाउँ भए पुरौं’, उनले भने, ‘विशेषगरी गर्भवती र बालबालिकालाई लामखुट्टेको टोकाइबाट जोगाऔं। झुलको प्रयोग गरौं।’ औलोका कारण विश्वमा प्रत्येक दुई मिनेटमा एक बच्चाको ज्यान जाने गरेको उनले बताए।
जोखिम न्यूनीकरणका लागि लामखुट्टेविरुद्ध विषादी छिर्काउ कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई निर्देशन दिइएको उनको भनाइ छ। औलो संक्रमणबाट गर्भवती र पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा पर्छन्।