जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीलाई हातपात गरिएको छ । नेकपाका नेता एवम् नगरप्रमुख घर्ती माथि शनिबार बिहान सत्तारुढ नेकपाकै युवा दस्ता युवा संघ नेपालका जिल्ला संयोजक दिपेन्द्र शाही सहितको एक समूहले भेरी नगरपालिका वडा नम्वर १० को फेराखोला स्थित भेरी किनारमा हातपात गरेको हो।
युवा संघका संयोजक, पूर्व एमाले निकट युवा संघ नेपाल जाजरकोटका पूर्वअध्यक्ष शाहीको समुहले गरेको मुक्का प्रहारबाट मेयर घर्तीको आँखा र मुखमा चोट लागेको छ।
सत्तारुढ नेकपा जाजरकोटका अध्यक्ष ढकवीर रानाका अनुसार, शाहीले गाउँमा योजना पार्दा नगर प्रमुख शाहीले पक्षपात गरेको भन्दै गुनासो गर्ने क्रममा भएको विवादमा मेयर घर्तीमाथि हातपात भएको बताइएको छ । योजना दिँदा आफूहरुले नपाएको र आफूहरु माथि अन्याय भएको गुनासो गर्ने क्रममा विवाद भएको प्राप्त जानकारीमा उल्लेख छ ।
नगर प्रमुख घर्ती पूर्वएमाले जाजरकोटका सचिव र अहिले नेकपाको कर्णाली प्रदेश समिति सदस्य हुन् ।
मेयर घर्तीलाई आक्रमण गर्नेको खोजी भइरहेको जाजरकोट प्रहरी प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठले बताए । उनले घटनाबारे यथार्थ बुझ्न नगरप्रमुख घर्तीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको बताए । ‘मेयर सावले फोन उठाउनु भएन । घटनाबारे यथार्थ जानकारी अझै आइसकेको छैन ।’