राजनीतिक दल र संबैधानिक निकाय सम्बन्धि ऐन संशोधन अध्यादेशकाकारण चौतर्फी बिबादमा तानिएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफ्नै पार्टीका चार शिर्षस्थ नेतालाई छुट्टाछुट्टै भेटेका छन्। अरु नेताहरुसंगको भेट बारे बिस्तृत विवरण आउँ बाँकी रहेपनि पार्टी उपाध्यक्ष बामदेव गौतमसंगको भेटमा दुवै जनाबीच चर्काचर्की भएको समाचारहरु बाहिर आएका छन्।
प्रधानमन्त्री ओलीले शनिबार सचिवालयका चार जना नेतासँग छुट्टाछुटै भेटघाट गरेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेललाई बालुटार बोलाएर छलफल गरेको नेकपा स्रोतले जानकारी दियो । यद्यपि भेटमा के कुराकानी भयो भन्ने नेताहरुले खुलाएका छैनन् ।
प्रम ओली र गौतमबीच शनिबारको भेटवार्तामा चर्काचकी मात्रै होइन, एकले अर्कालाई देखाइदिने सम्मको चुनौती दिएका छन् । स्रोतका अनुसार भेटमा नेता गौतमले ओलीलाई बेमौसममा अध्यादेश ल्याएर पार्टी र सरकारकै बद्नाम भएको भन्दै तत्काल प्रधानमन्त्री पदबाट राजीनामा गर्न सुझाएका थिए ।
तर, गौतमको यस्तो सुझाव सुनेर आक्रोसित बनेका ओलीले यसको हिसाव किताव राम्रैसँग गर्ने जवाफ फर्काएका थिए । नेताहरुबीच विवाद चर्कदै गएपछि एकले अर्कोलाई हैसियत देखाउने सम्मका अभिव्यक्ति दिएका थिए ।
‘तपाईले बेमौसममा अध्यादेश ल्याएर गम्भीर गल्ती गरिसक्नुभयो । यसमा तपाइको मनस्थिति ठिक देखिएन । अब खुरुक्क राजीनामा दिनुस् र बालकोट गएर बस्नुस् । त्यसैमा तपाईको भलो हुन्छ’, ओलीलाई गौतमको सुझाव थियो ।
तर गौतमको सुझाव सुनेपछि ओली आक्रोसित मात्र भएन्न, गौतमलाई देखाइदिने धम्की नै दिएका थिए । ओलीले गौतमलाई धम्क्याउदै भनेका थिए, ‘यो त अति भो, पाटीभित्रैबाट यस्तो षडयन्त्र हुन्छ भन्ने मैले सोचेको पनि थिइँन । म राजीनामा कुनै हालतमा दिन्न । सक्नुहुन्छ भने हटाएर देखाउनुस् ।’
बालुवाटार श्रोतका अनुसार दुई नेताबीच झण्डै आधा घण्टा यस्तो चर्काचर्की परेको थियो । आफूविरुद्ध मोर्चाबन्दी भइरहेको भन्दै ओलीले त्यसको हिसावकिताव आफुसँग रहेको भन्दै गौतमलाई धम्क्याएका थिए ।
गत ८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय र सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी थिइन् ।
अध्यादेश जारी भएलगत्तै नेकपामा विवाद भएको छ । सोही विषयलाई लिएर पार्टी र बाहिरबाट थेग्नै नसक्ने विरोध भएपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता गर्न बाध्य भएका थिए । शुक्रबारको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपतिले शुक्रबार नै अध्यादेश खारेज गरेकी थिइन् ।
यसैबीच, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद पेचिलो बन्दै गएको छ । सत्तारुढ नेकपाभित्र प्रम ओलीको कार्यशैलीलाई लिएर तीव्र आलोचना भइरहेको छ ।अध्यादेश प्रकरणपछि स्थायी समिति बैठककोे माग भइरहेका बेला त्यसलाई टार्ने योजनामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली लागेका छन् ।
तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका बहुसंख्यक नेताहरु बैठक बोलाएर त्यसको छिनोफानो गर्ने पक्षमा छन् । यहि क्रममा प्रधानमन्त्री ओलीले शनिबार पार्टी सचिवालयका चार शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेटेर सचिवालय बैठक तत्काल नबोलाउने संकेत दिइसकेका छन् ।
ओलीले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेललाई बालुटार बोलाएर छलफल गर्दै अध्यादेश फिर्ता भएको अवस्थामा स्थायी समिति बैठक बोलाउन आवश्यक नभएको भन्दै टार्न खोजेका थिए ।