रूपन्देहीको सुनौली राजश्व गुल्मका प्रमुख डिएसपी मानबहादुर शाहीलाई सोही गुल्ममा कार्यरत दुई जना इन्स्पेक्टर (सशस्त्र प्रहरी निरीक्षक)हरुले बुधबार राति सशस्त्र प्रहरी ब्यारेकभित्र नै कुटपिट गरेका छन्। डिएसपी शाहीलाई कुनै चोट नलागे पनि आफ्नो हाकिम कुट्ने दुवै जना प्रहरी इन्स्पेक्टरलाई भने ससस्त्र प्रहरीले पक्राउ गरेको छ।
हाल ससस्त्र प्रहरीको नियन्त्रणमा रहेका दुई जना ससस्त्र प्रहरी इन्स्पेक्टरहरुमा केशव भट्टराई र दयाराम पौडेल रहेका छन्।
उनीहरुले आफ्ना हाकिम किन कुटे भन्ने बारेमा प्रस्ट भएको त छैन। तर सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी प्रविन कुमार श्रेष्ठले घटनाको पुष्टि गर्दै घटनाका बारेमा छानविन गर्न निर्देशन दिइएको जानकारी दिए। उनले कुटपिटको कारण छानबिन पछि मात्र भन्न सकिने बताइरहदा इन्स्पेक्टरहरुले मादक पदार्थ सेवन गरेर कुटपिट गरेको हुन सक्ने अनुमान गरिएको छ। ‘आवेशमा आएर हातपात गरेको हुन सक्छ,’ प्रवक्ता डिआइजी श्रेष्ठ अघिले भने, ‘अब मापसे गरेको छ वा छैन भन्ने छानविनको प्रतिवेदनले भन्ला।’ उनीहरूलाई विभागीय कारबाही हुने उनले बताए।