भारतको मुम्बईमा ५३ जना पत्रकारलाई कोरोना भाइरस संक्रमण भएको छ। मुम्बईको सिटी सिभिल अस्पतालले जानकारी दिए अनुसार सोमबार गरिएको परीक्षणमा ५३ जना पत्रकारलाई कोरोना भाइरस पुष्टि भएको हो।
कोरोना फैलिँदै गएपछि १६ र १७ अप्रिल दुई दिन चलाइएको विशेष परीक्षण अभियानका क्रममा १७१ जना पत्रकारको नमुना लिइएको थियो। त्यो नमुना टेलिभिजन, रेडियो र छापामाध्यममा काम गर्ने सबै पत्रकारको लिइएको थियो। जसमा छापामा काम गर्ने पत्रकार र टेलिभिजनमा काम गर्ने क्यामेरा पर्सन पनि थिए।
‘एकसय ७१ पत्रकारमध्ये ५३ जनामा कोरोना पोजेटिभ देखिएको छ’, ब्रिहानमुम्बई नगर परिषदका प्रवक्ता विजय खाबालेले भने, ‘उनीहरु सबैलाई अहिले आइसोलेसनमा राखेर उपचार थालिसकेका छौं।’ स्वास्थ्यकर्मीले ती पत्रकारसँग भेट भएका अन्य मानिसको खोजी पनि थालिसकेको छ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, मुंबईपछि चेन्नईको एक तमिल समाचार टेलीभिजनमा कार्यरत दुई जना पत्रकारसहित अन्य २५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ।
भारतको चर्चित अनलाइन द हिन्दुका अनुसार मुम्बईमा मात्रै कोरोना भाइरसबाट संक्रमितको संख्या सोमबारसम्म २ हजार ७२४ पुगेको छ। मुम्बईमा मृत्यु हुनेको संख्या १३२ पगिसकेको छ। भारतमा सबैभन्दा बढी मुम्बई सहर रहेको महाराष्ट्र राज्यमा कोरोना संक्रमित पाइएका छन्। महाराष्ट्रमा सोमबारसम्ममा कोरोना संक्रमितको संख्या ४४ सय ८३ पुगेको छ। त्यहाँ ५०७ जना बिरामी निको हुँदा २२३ जनाको ज्यान गइसकेको छ।