राहत नपाएर भोकाएका सुकुम्बासीहरुले कैलालीको जानकी गाँउपालिकाका वडा नम्बर ५ का अध्यक्षलगायत जनप्रतिनिधिलाई दुई घन्टासम्म कार्यालयमा थुनेका छन्।
राहत वितरणमा पारदर्शिता नभएको, पाउनुपर्ने सुकुम्बासीले पनि राहत नपाएको र राहत बितारनामा ढिलाई गरेको भन्दै आक्रोशित सुकुम्बासीहरुले मंगलबार वडाध्यक्ष भिम बहादुर थारूलगायत आठ जनालाई वडा कार्यालयमा ताला लगाई दुई घन्टासम्म थुनेका हुन्।
वडामा रहेको सुकुम्बासी टोलका मजदुरी गरि खानेलाई गएको ६ गते राहत् दिने भनिए पनि ढिलाई गरिएकोकारण सुकुम्बासी वस्तिमा दैनिक ज्यालादारी गरि परिवार चलाउनेहरु समस्यामा परेका छन्। स्थानीय अमौरी सुकुम्वासी टोलमा २ सय बढी परिवार लकडाउनका कारण समस्यामा परेपनि वडाबाट केही परिवारलाई राहत दिएर बाँकीलाई भोकै राखिएकोमा बाकि सुकुम्बासी आक्रोशित छन्।
वडा कार्यालयमा ५ सय १९ परिवारले राहत माग गर्दै फारम भरेकोमा बडघर, राजनितिक दल, अगुवा र जनप्रतिनिधिको छलफलबाट २ सय ६२ परिवार राहतका लागि छनोटमा परेको वडा कार्यालयले जनाएको छ। जसमध्ये १ सय ९८ परिवारलाई पहिलो चरणमा राहत दिएको वडा अध्यक्ष भिम बहादुर थारूले जानकारी दिए । बाँकी रहेका, छुट परिवारको फारम लिने र दोस्रो चरणको राहत वितरण गर्ने तयारीमा वडा कार्यालय जुटेको उनको दाबी छ।
आफुलाई स्थानिय जनताले तालाबन्दी गरी थुनेको उजुरी वडाध्यक्ष थारुले प्रहरीमा गरेपछि प्रहरी चौकी अमरावतीका इन्चार्ज असई सुरेन्द बहादुर पालको नेतृत्वमा गएको प्रहरी टोलीले आक्रोशित स्थानीय बासिन्दालाई सम्झाई बुझाई गरि वडाध्यक्षसहित थुनिएका सबैलाई दुई घना पछि मुक्त गरेको थियो।