क्यानडामा एक बन्दुकधारीले विभिन्न ठाँउमा जथाभावी गोली चलाउँदा एक महिला प्रहरीसहित १६ जनाको ज्यान गएको छ। आइतबार भएको यो घटनालाई क्यानडामा ३० वर्षयता भएको सबैभन्दा ठूलो सामुहिक हत्या मानिएको छ।
ग्याब्रियल वोर्टम्यान नाम गरेका ५२ वर्षिय ती बन्दुकधारीले क्यानडाको नोभा स्कटिया प्रान्तमा यो घटना गराएका हुन्।
१२ घण्टाको प्रयासपछि उनी प्रहरीको गोलीबाट मारिएका छन्। उनले आक्रमण गर्दा एक ठाउँमा आफूलाई प्रहरीको जस्तै पोशाकमा प्रस्तुत गरेका थिए भने गाडीलाई पनि प्रहरीको गाडी जस्तै बनाएका थिए। प्रहरीले ती व्यक्ति र हत्या गरिएका मानिसहरूबीच कुनै सम्बन्ध नभएको जनाएको छ।
घटनापछि उक्त प्रान्तको ग्रामीण क्षेत्र पोर्तापिकका बासिन्दालाई घरभित्रै बस्न प्रशासनले सुझाव दिएको छ। बन्दुकधारीले उक्त प्रान्तका विभिन्न स्थानमा गोली हानेकाले मर्नेहरुको संख्या अझै यकिन हुन नसकेको प्रहरीले जनाएको छ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुड्युले उक्त घटनालाई भयानक अवस्थाको संज्ञा दिँदै प्रान्तको अहिलेसम्मकै हिंंसात्मक घटना भएको बताएका छन्।