कोरोना भाइरस गाउमा पस्न नदिन भन्दै रुख ढालेर बाटो छेक्ने तीन जना युवा कारबाहीमा परेका छन्। तनहुँको भानु २ स्थित नारेश्वरदेखि दोरदोर गाउँका स्थानीय ३२ वर्षीय विष्णुकुमार श्रेष्ठ, २८ वर्षीय दिलबहादुर सुनार र व्यास ११ का सन्दीप श्रेष्ठ कारबाहीमा परेका हुन्।
उनीहरुलाई सानो देउराली सामुदायिक वन उपभोक्ता समितिले कारबाही गरेको हो। लक डाउन सफल पार्ने नाममा तीन वटा सालका रुखहरु काटेको भन्दै सानो देउराली सामुदायिक वन समूहले उनीहरुलाई कारबाही स्वरुप २५ हजार रुपियाँ जरिवाना असुलेको हो ।
कोरोना भाइरस रोकथामका लागि भन्दै स्थानीय युवाले चैत २५ गते मोटरबाटो छेउको तीन वटा रूख ढालेर बाटो अवरोध गरेका थिए। सो अवरोधकाकारण सवारी साधनको आवागमन बन्द भएको थियो। तर वन ऐन र कार्यविधि बिपरित सालको रुख काटेको भन्दै सामुदायिक वन उपभोक्ता समितिले जरिवाना गरिएको सामुदायिक वन समूहका अध्यक्ष कुमार खड्काले जानकारी दिए। सो ऐनमा समितिलाई सामुदायिक वनको रूख अनधिकृत रूपमा काट्नेलाई जरिवाना गर्न सक्ने अधिकार दिएको छ।
यता, जिल्ला वन कार्यालयले पनि उनीहरूलाई कारबाहीको तयारी गरेको छ। सामुदायिक वनको रूख काटिएको खबर पाउनेबित्तिकै वन कार्यालयका कर्मचारी अनुगमन गर्न पुगेका थिए। अनुगमनका क्रममा तीनवटा रूखका गरेर ६० क्युफिट काठ अनधिकृत काटेको पाइएको जिल्ला वन अधिकृत केदार बरालले बताए।
निजी जमिनमा हुर्किएकै भएपनि सालका रूख अनाधिकृत काट्न नपाइने कानूनी प्राबधान छ। वन ऐन र कार्यविधि अनुसार १ क्युफिट सालको काठ अनधिकृत काटेको पाइएमा एक हजार जरिवाना हुने कानूनी प्राबधान छ। कानूनी प्रावधान अनुसार, जिल्ला वन कार्यालयले उनीहरूबाट ६० हजार जरिवाना गर्न सक्नेछ।
उपभोक्ता समितिमा २५ हजार जरिवाना तिरेका ती युवालाई लकडाउन खुलेपछि जिल्ला वन कार्यालय तनहुँमा हाजिर गराउने गरी कागज बनाएर सामुदायिक वन समूहका अध्यक्ष खड्काको रोहवरमा छाडिएको समाचारमा जनाइएको छ।