राहत वितरणमा विभेद भएको भन्दै बिरोध गर्ने पांच जना स्थानिय बासिन्दालाई प्रहरीले राहत लुटेको आरोप लगाएर पक्राउ गरेको छ।
प्राप्त समाचार अनुसार, पर्साको पर्सागढी नगरपालिका वडा नं ५ का अध्यक्ष असलम आलमले शनिबार पचरुखी र भिगना टोलका दुई सय २४ जना विपन्न व्यक्तिलाई राहत वितरण गरिरहेका थिए । सोही क्रममा राहत वितरणप्रति असन्तुष्ट नेपाली कांग्रेसका समर्थक कार्यकर्ताहरु राजेश्वरप्रसाद यादवसहित १०/१२ जनाको समूहमा आएका स्थानीय बासिन्दाले बिरोध जनाएका थिए । त्यही बेला सोही नगरपालिकाले वडा नं ६ का लागि पठाएको राहतको सामग्री बोकेको गाडी देखेपछि पचरुखी गाउँका केही स्थानीय बासिन्दाले लुटेको आरोप प्रहरीले लगाएको छ । प्रहरीले सोही आरोपमा पर्सागढी नगरपालिका वडा नं ५ का बासिन्दाहरु श्याम कुमार शर्मा, सम्सुल हवारी, चन्द्रकिशोर साह, चन्द्रिका पटेल र दर्शन रायभारलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्सा बीरगंज लगेको बताइएको छ ।
नगरपालिकाबाट वडा नं ६ का लागि पठाइएको ८४ पोका राहत सामग्री वडा नं ५ पचरुखीमा लुटिएको प्रहरीको दाबी छ । एउटा पोकामा दुई किलो दाल, एक लिटर तेल, दुई प्याकेट नुन, दुई वटा डिटोल र दुई वटा कपडा धुने साबुन गरी छ सय रुपैयाँ बराबरको समान रहेको पर्सागढी नगरपालिकाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय एकटाङ्गा प्रहरी नायब निरीक्षक पूर्णबहादुर दाहालले दिएको जानकारी अनुसार, नेपाली कांग्रेस निकट यादवले राजनीतिक प्रतिशोध पूरा गर्नका लागि सबैलाई राहत वितरण गर्नुपर्ने माग राखेर विवाद गरेको वडा अध्यक्ष आलमले आरोप लगाए ।