कोरोना बारे मिडियामा धेरै बोलेको भन्दै सरुवारोग बिज्ञ डा. पुनलाई कारबाहीको तयारी

कोरोना बारे मिडियामा धेरै बोलेको भन्दै सरुवारोग बिज्ञ डा. पुनलाई कारबाहीको तयारी


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ बैशाख २०७७
  • 4.9K
    Shares

डाक्टर शेरबहादुर पुन

मानिसलाई  सरुवा रोग बारे जन चेतना जगाउने कार्यमा  सक्रिय टेकु अस्पतालका सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टिकरण सोधेको छ।

पछिल्लो समय कोरोनाको विषयलाई लिएर अनावश्यक रूपमा सञ्चार माध्यममा बोलेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरूवा रोग विशेषज्ञ डाक्टर पुनसंग स्पष्टिकरण सोधेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ तथा सरुवा रोगका विषयलाई लिएर सवैभन्दा धेरै जानकारी प्रवाह गरिरहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनलाई कारबाही गर्ने तयारीस्वरुप स्पष्टिकरण सोधिएको बताइएको छ।

सरुवा रोगमा जापानबाट पिएचडी गरेका उनी सरुवा रोगका विषयमा धेरै जानकारी प्रवाह गर्ने चिकित्सकमा पर्छन्। कोरोना भाइरसका विषयमा पनि सर्वसाधारणलाई सवैभन्दा पहिले जानकारी गराउने नेपाली चिकित्सक मध्यका एक हुन् उनी। उनले गत पुष २० गते नै ‘चीनमा सार्सजस्तो अज्ञात भाइरस फैलियो, नेपाल कति जोखिममा?’ भनेर लेख लेख्दै सरोकारवाला र सर्वसाधरणलाई सचेत गराएका थिए। नेपालमा कोरोना नदेखिएको अवस्थामा पनि यसबारे तयारी गर्नुपर्नेमा उनको जोड रहँदै आएको थियो।

कोरोना संक्रमित र सम्भावितको उपचारका साथै सचेतना फैलाउन सक्रिय उनले सञ्चार माध्यममा धेरै लेखेको र बोलेको भन्दै कारबाही गर्न लागिएको हो। उनी क्लिनिकल उपचारका साथै रोगको अनुसन्धानमा पनि सक्रिय रहन्छन्। आफूले प्राप्त गरेको जानकारी आमजनमाझ पुर्याउन सक्रिय हुन्छन्।

उनी आफूले जानेका कुराहरु सकारात्मक रुपमा आम नागरिकले बुझ्ने गरी सरल भाषामा जानकारी गराउँछन्। उनी यसरी सक्रिय हुँदा उक्त अस्पताल र इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका हाकिमहरुले आफू छायाँमा परेको भन्दै डा पुनको ईर्ष्या समेत गर्ने गरेका थिए।

आफूलाई छायाँमा पारेको रिस उनीमाथि पटक पटक पोखिदै आएको छ। धेरै जानकारी लिने र प्रवाह गर्ने गरेका उनलाई रोक्न यसअघि अस्पतालले डा अनुप बास्तोलालाई प्रवक्ता तोकेको थियो। उक्त अस्पतालका तत्कालिन निर्देशक तथा हाल इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डेलाई उनी हावी भएको मन परिरहेको थिएन। त्यसकारण उनले गत मंसिरमै उनलाई कारबाही गर्ने तयारी गरेका थिए।

उनी बढी जान्ने हुन खोजेको भन्दै आफूले कारबाहीको तयारी गरिरहेको डा पाण्डेले ललितपुरस्थित एक रेस्टुरेन्टमा आयोजित कार्यक्रमपछि स्वास्थ्यखबरकर्मीलगायतका सञ्चारकर्मीसँगको अनौपचारिक छलफलमा बताएका थिए। डा पाण्डेसमेत संलग्न रहेको एक गैरसरकारी संस्थाको कार्यक्रमकफ खाजा समयमा डा पाण्डेले उनी धेरै बोल्ने गरेको आरोप लगाएका थिए।

गएको सिजनमा उपत्यकामै डेंगु फैलिएको थियो। उक्त रोग विरुद्ध उनी उपचारमा सक्रिय हुनुका साथै सचेतना फैलाउन लागिपरेका थिए। उनले गरेको उक्त कामको प्रशंसा भएको थियो। उनको प्रशंसा भएपछि उक्त अस्पतालका तत्कालिन निर्देशकलगायत चिढिएका थिए।

डा. पुनले भने आफूले मानिसमा चेतना जगाएको कुरा मन्त्रालयका केही व्यक्तिले नसहेको जिकिर गरेका छन्।  उनले अघि भने,’ ‘पहिल्यैदेखि मन्त्रालयले मलाई लक्षित गरिरहेको थियो। ‘कुरा स्पष्ट छ। म अगाडि देखिएको कुरा केहीलाई मन परेन,’ पुनले आफू मन्त्रालयलाई स्पष्टिकरण दिन तयार रहेको जनाए। उनले आफूले अनावश्यक कुरा नबोलेको भन्दै जस्तोसुकै प्रश्नको पनि सामना गर्ने बताए।

‘मैले मान्छेलाई चेतना होस् भनेर बोल्ने हो। प्राविधिक कुरामा मात्र बोलेको हुँ’ उनले भने, ‘त्यस्तो हो भने भोलिदेखि मुटु, किड्नी सबैको विशेषज्ञलाई बोल्न रोक्नुपर्‍यो।’

प्रतिक्रिया