लकडाउनबिरुद्ध अमेरिकामा राष्ट्रपति ट्रम्पका समर्थकहरु बन्दुकसहित प्रदर्शन : ट्रम्पद्वारा समर्थन

लकडाउनबिरुद्ध अमेरिकामा राष्ट्रपति ट्रम्पका समर्थकहरु बन्दुकसहित प्रदर्शन : ट्रम्पद्वारा समर्थन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ बैशाख २०७७
  • 4K
    Shares

लकडाउनबिरुद्ध अमेरिकामा हतियारसहित प्रदर्शन

कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनका बिरुद्ध संयुक्त राज्य अमेरिकाका बिभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु बन्दुक बोकेर लकडाउनविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।

अमेरिकाका मिशिगन, ओहियो, उत्तरी क्यारोलिना, मिनेसोटा, भर्जिनिया, केन्टकी, ओहायो, उटा लगायतका स्थानमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु बन्दुक बोकेर लकडाउनविरुद्ध  विरोध प्रदर्शनमा उत्रिएको बीबीसीले जनाएको छ । यी राज्यहरु डेमोक्रेट्स पार्टीको नेतृत्वमा छन् ।

लकडाउनले अर्थव्यवस्था डामाडोल हुने भन्दै गरिएको यो प्रदर्शनको समर्थन राष्ट्रपति ट्रम्पले गरेका छन् । ट्रम्पले प्रदर्शन भएका स्थान ट्वीटरमा उल्लेख गरेरै लकडाउन खुकुलो पार्न आग्रह पनि गरेका छन् ।

तर ट्रम्पले प्रदर्शन भएका ओहायो र उटालाई ट्वीटरमा उल्लेख नगरेकाले यस प्रदर्शनलाई उनले राजनीतिक रंग दिन खोजेको टिप्पणी गरिएको छ । ट्रम्पले लकडाउन खुकुलो पार्दै लैजाने योजना बिहीबार सार्वजनिक गरेका थिए ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन लक डाउन आवश्यक रहेको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बताउँदै आएका छन् । त्यसैले कोरोनाविरुद्ध लडिरहेका धेरै देशहरुले अहिले लकडाउन गरेका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा भन्दा चीनमा बढी मृत्यु भएको दाबी गरेका छन् । चिनियाँ अधिकारीहरुले हुेबई प्रान्तको वुहानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संशोधित संख्या सार्वजनिक गरेपछि ट्रम्पको यस्तो भनाइ सार्वजनिक भएको हो ।

शुक्रबार ट्वीट गर्दै ट्रम्पले भनेका छन्, ‘यस अज्ञात शत्रुबाट हुने मृत्युको तथ्यांक चीनले अचानक बढाएर दोब्बर गरायो । तर मृत्युको संख्या अमेरिकाको भन्दा पनि धेरै छ ।’

चीनले शुक्रबार हुेबई प्रान्तको वुहानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संशोधित संख्या सार्वजनिक गरेको थियो, जसमा १ हजार २ सय ९० जना मृतक थपिएका थिए । यससँगै हुबेईमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेर ३ हजार ८ सय ६९ पुगेको थियो भने पूरै चीनमा मृतकको संख्याको कूल संख्या ४ हजार ६०० पुगेको थियो ।

चिनियाँ अधिकारीहरुका अनुसार यसअघि फेला नपरेका र गणनामा छुटेकाहरु १२ सय ९० जना भेटिएका हुन् । महामारीको समयमा अस्पतालमा पर्याप्त भर्नाको अभावको कारण उनीहरू गणनामा छुटेको बताइएको छ ।

अमेरिकाले सुरुदेखि नै चीनले कोरोनाबाट मानवीय क्षतिको वास्तविकता लुकाएको र डब्ल्यूएचओले पनि चीनको पक्षपोषण गरेको आरोप लगाउँदै आएको छ । यही आरोपका बीच अमेरिकाले डब्ल्यूएचलाई दिँदै आएको आर्थिक सहयोग रोक्का गरेको छ ।

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा ३१ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ भने झण्डै ७ लाख जनामा संक्रमण पुष्टि भएको छ ।

अमेरिका कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको देश हो । अमेरिकामा कोरोनाबाट संक्रमितको झण्डै सात लाख पुगिसकेको र मृतकको संख्या ३१ हजार ४ सय ५६ पुगिसकेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया