सरकारको निर्णय बमोजिम नेपाली सेनाले कोरोना भाइरस संक्रमण गर्न आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन भारत लगायत पांच देशलाई पत्राचार गरेकोमा भारतले निर्धारित समयमा कुनै जवाफ दिएन। तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी कोरोना भाइरसका विरूद्धको सहकार्यलाई अझ सशक्त बनाउने बचन दिएका छन्।
नेपाली सेनाले नेपाललाई आवस्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन भारत, चीन, सिंगापुर, इजरायललाई पत्राचार गरेको थियो। उपकरणको मात्रा र समयसमेत तोकेर ती उपकरणहरु उपलब्ध गराउन सक्ने वा नसक्ने ? कति समयमा उपलब्ध गराउन सक्ने र कुल मूल्यमा उपलब्ध गराउन सक्ने भन्दै नेपाली सेनाले परराष्ट्र मन्त्रालयमार्फत् ती देशहरुलाई पत्र पठाएको थियो । सेनाले मुख्यतः छिमकी देशहरु भारत र चीनलाई मुख्य गन्तब्य मानेर पत्र पठाएको थियो । तर दक्षिणको छिमेकी देश भारतले बिहीबार रातिसम्म पनि कुनै जवाफ पठाएको छैन ।
सेनाले प्रस्ताव गरेको अर्को देश सिङ्गापुरले स्वास्थ्य उपकरण उपलब्ध गराउन नसक्ने भन्दै जवाफ पठाएको छ भने इजरायलले पनि आफूहरुले समेत चीनबाट ती उपकरण खरिद गरी ल्याउने भएकाले उतैबाट लिँदा ठीक हुने भन्दै जवाफ पठाएको छ ।
यता उत्तरको छिमेकी देश चीनले भने आवश्यक सामग्रीहरुको बारेमा निरन्तर जानकारी लिँदै केही सामानहरुको उत्पादक कम्पनी तथा मूल्यको सम्बन्धमा परराष्ट्र मन्त्रालयमार्फत् नेपाली सेनासँग छलफल गरिरहेको छ । कतिपय स्वास्थ्य उपकरणको गुणस्तर तथा मूल्यका सम्बन्धमा चीन सरकारले जवाफ समेत पठाइसकेको छ । नेपाली सेनाले ती सामानबारे छलफल गरिरहेको बुझिएको छ ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोनमा कुराकानी भएको छ। कुराकानीका क्रममा कोरोना भाइरसका विरूद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा सहमति भएको ओलीले जानकारी दिएका छन्।
मोदिसंगको टेलिफोन वार्तापछि आफ्नो ट्वीटरमा ट्वीट गर्दै ‘लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ-आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं। ‘ प्रम ओलीले ‘आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भएको पनि जानकारी दिएका छन्।
मोदीले ओलीसँग कोभिड-१९ का कारण सिर्जित अवस्थाबारे छलफल भएको बताएका छ।ट्वीट गर्दै उनले भनेका छन्-यो चुनौतीसँग जुध्न नेपाली जनताले देखाएको दृढताको प्रशंसा गरे। कोभिड-१९ विरूद्धको साझा लडाइँमा हामी नेपालसँगै छौं।