दोलखाको तामाकोशी गाउँपालिका–५ का वडा अध्यक्षको टोलीले दलित बस्तीमा पुगेर जथाभाबी आक्रमण गर्दा चार जना सख्त घाइते भएका छन्।
चरिकोटस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेका भुवन मिजार र कमल मिजारको टाउकोमा चोट लागेको छ भने दलित महिला सिता र गिता मिजारको शरिर भरि निलडाम रहेको बताइएको छ।
मदिरा सेवन गरि वडा अध्यक्ष राजकुमार रोक्का,मदन खड्का,भुमिराज रोक्का ,कपिल फुयाँल र ईश्वर रोक्का सहितको समुहले अपशब्द बोल्दै मरासन्न हुने गरी कुटपिट गरेका पिडितहरुको भनाइ छ। उनीहरुले दलितको पसल अगाडी पिसाब फेरी अभद्र ब्यबहार गरेको पनि आरोप लगाइएको छ।
‘दलितको बुद्धि हुदैन भन्दै अपशब्द बोल्ने गरेका वडाध्यक्ष रोक्कालाई योभन्दा पहिला पनि स्थानिय प्रशासनमा दलित समुदायले उजुरी गरेका थिए । वडाध्यक्ष सधै गाँजा,रक्सी सेवन गरि हिड्ने गरेको स्थानीयकाे भनाइ छ । घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन स्थानीयले माग गरेका छन् । तर सुनुवाई भएको छैन। प्रहरीले कुटपिट गर्नेलाई हालसम्म नसमातेकोमा पीडितहरुले असन्तुष्ट रहेका छन् ।