भारतको एक मदरसामा पढिरहेका १५ किशोर लुकेर बसेको अवस्थामा महोत्तरीमा फेला परे

भारतको एक मदरसामा पढिरहेका १५ किशोर लुकेर बसेको अवस्थामा महोत्तरीमा फेला परे


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ चैत्र २०७६
  • 4K
    Shares

महोत्तरीमा लुकेर बसेका भारतको एक मदरशाका १५ किशोर

कोरोना भाइरसको संक्रमणबाट बच्न भारतबाट आएर लुकेर बसेका भारतको उत्तर प्रदेशस्थित एक मदरसाका १५ जना किशोर महोत्तरीमा फेला परेका छन् । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमा नाकासमेत बन्द गरेको अवस्थामा १५ किशोर महोत्तरीको एकडारा गाउँपालिका–५ बहेडा गाउँमा आएर लुकेर बसिरहेको अवस्थामा फेला परेका हुन्।

उनीहरु यही चैत २२ गते राति वनको बाटो हुँदै भारतको सीतामढी शहरबाट बहेडा गाउँमा आइपुगेका हुन्। तेह्र वर्षदेखि १८ वर्ष उमेर समूहका ती किशोर भारतको बिहारमा पर्ने किशनगञ्ज जिल्लाका भएका प्रहरीले जनाएको छ।

उनीहरु बहेडाकै एक साथीसहित भारतको उत्तर प्रदेशस्थित एक मदरसामा पढिरहेका थिए। भारतमा लकडाउनका बेला पढिरहेको मदरसाबाट आफ्नो घर किशनगञ्ज जिल्ला जाने क्रममा भारतको सीतामढीमा घेरिएपछि महोत्तरीका साथीसँग उनीहरु बहेडा आइपुगेको गाउँपालिकाका अध्यक्ष रामछविला रायले बताए।

भारतीय १५ किशोर बहेडा गाउँमा लुकेर बसिरहेको बारेमा गाउँपालिका अध्यक्ष साहलाई समेत जानकारी थिएन। प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकसहितकाले स्रोतको माध्यमबाट त्यसबारे जानकारी पाएपछि अध्यक्ष साहलाई जानकारी गराइएको थियो।

वडाध्यक्ष शेराजुद्दीन अन्सारीको नेतृत्वमा सोमबार भारतीय किशोरको खोजतलास गर्दा उनीहरु एक घरमा लुकेर बसिरहेको अवस्थामा फेला परेका हुन्। एकै घरमा फेला परेका ती सबै किशोरको तत्काल गाउँपालिकाको स्वास्थ्य टोलीद्वारा ज्वरो जाँच गर्दा अवस्था सामान्य रहेको पाइएको छ। उनीहरुलाई तत्काल छुट्टै होम क्वारेन्टाइनमा १४ दिनसम्मका लागि राखिएको अध्यक्ष साहले बताए।

यता सीमाक्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मीको २४ घण्टे ड्युटी र कडा निगरानी रहेको बेला भारतीय किशोर समूहमै नेपाल प्रवेश गरेकामा उनीहरुको कामप्रति प्रश्न चिन्ह उठेको छ। साथै स्थानीय बासिन्दा र वडाध्यक्षसमेतले गाउँमा नयाँ मानिस आएको कुरा प्रहरी प्रशासनलाई जानकारी नगराएर ठूलो लापरवाही गरेको आरोप सर्वसाधारणले लगाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार