प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । मंगलबार देशबासीलाई सम्बोधन गर्दै उनले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन् ।
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आएका केही नागरिक क्वारेन्टाइनमा बस्न नमानेको उल्लेख गर्दै स्वघोषणा गर्दै क्वारेन्टाइनमा बस्न आग्रह गरेका हुन् ।
विदेशबाट आएका सबै नागरिकलाई जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आएर कोरोनाविरुद्धको लडाइँमा सहभागी हुन प्रधानमन्त्री ओलीले आग्रह गरेका छन्।
एक जनाको लापरबाहीले परिवार, समुदाय हुँदै राष्ट्रलाई नै क्षति पुऱ्याउने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका हुन्। त्यस्तै नेपाल–भारत सीमामा रहेका नेपाली नागरिकको उचित व्यवस्थापन गरिने प्रधानमन्त्री ओलीले बताएका छन्।