माछा मार्ने विषयमा दुई समूहबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर, एक घाइते

माछा मार्ने विषयमा दुई समूहबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर, एक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ चैत्र २०७६
  • 3.3K
    Shares

बागमती नदी

माछा मार्ने विषयमा सर्लाही र रौतहटका दुई समूहबीच सोमवार दिउँसो रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित बागमती नदीमा झडप हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ भने सो झडपमा एक जना गम्भीर घाईते भएका छन्।

सर्लाही र रौतहटको बीचमा पर्ने बागमती नदीमा माछा मार्ने विषयमा सर्लाही र रौतहटका दुई समूहबीच सोमवार दिउँसो झडप भएको हो। सर्लाहीको रामनगर गाउँपालिका र रौतहटको दुर्गा भगवती गाउँपालिकाले बागमतीको माछाको ठेक्का गरेका थिए। दुवै गाउँपालिकाले एउटै नदीको माछाको ठेक्कामा बेचेपछि विवाद बल्झेको थियो।

सोमवार दिउँसो सर्लाहीतर्फबाट माछाको ठेक्का सकार गर्ने वीरा सहनी र रौतहटतर्फबाट ठेक्का सकार गर्ने भोला सहनीको समूह माछा मार्न बागमती नदीमा पुग्दा दुवै पक्षबीच झडप भएको हो। झडपमा भोला सहनी घाइते भएका छन्। सहनीको टाउको चोट लागेकोे छ। सहनीको उपचार प्राथमिक स्वास्थ्य केन्द्र पिपरा बजारमा भइरहेको छ।

दुई पक्षबीच बागमती नदीमा झडप भइरहेको छ भन्ने थाहा पाउनासाथ इलाका प्रहरी कार्यालय पिपरा बजारबाट खटिएर गएको प्रहरीको टोली घटनास्थलमा पुग्नासाथ सर्लाहीको वीरा सहनी पक्षले प्रहरीमाथि नै आक्रमण गर्न पुगेको थियो। प्रहरीमाथि नै आक्रमण भएपछि आत्मरक्षाको लागि प्रहरीले दुई राउन्ड हवाइ फायर गरेको प्रहरीले जनाएको छ।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्काले बताएका छन्।

 

प्रतिक्रिया