सरकारले अन्तत: सरकार–सरकार (जीटूजी) विधिबाट नेपाली सेनामार्फत कोरोना भाइरस नियन्त्रण सम्बन्धि सामाग्री खरीद गर्ने संकेत देखिएको छ।
मन्त्री परिषद्को चैत १६ गते बसेको निर्णयका आधारमा नेपाली सेनाले स्वास्थ्य सामाग्री खरीद गर्न शुरु गरेको टेन्डरलाई रद्द गरेको छ भने स्वास्थ्य सेवा विभागले पनि अघि बढाएको टेन्डर प्रक्रिया पनि रद्द भएको छ।
मन्त्रीपरिषद्को बैठकले ‘स्वास्थ्य सामग्री सरकार–सरकार (जीटूजी) विधिबाट खरिद गर्ने र त्यसको जिम्मा नेपाली सेनालाई दिने’ निर्णय गरेको थियो र त्यही निर्णयको आधारमा भएको पत्राचारलाई आधार मानेर नेपाली सेनाले कोरोना भाइरस नियन्त्रण सम्बन्धि सामग्री खरीद गर्ने टेन्डर प्रक्रिया शुरु गरेको थियो।
नेपाली सेनाले कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू खरिद गर्ने प्रक्रिया रद्द गरेको छ। सरकारले कोरोनाभाइरस रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री जिटुजीमार्फत् ल्याउने भएपछि सेनाले खरिद प्रक्रिया रद्द गरेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए। यसअघि सेनाले १७ करोडको स्वास्थ्य उपकरण तथा सामग्री ल्याउनका लागि टेण्डर आह्वान गरेको थियो। सरकारबाट प्राप्त १० करोड र सेना आफैंले ७ करोड गरी १७ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने सेनाको तयारी थियो।
त्यसतै कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिको बिहीबार बसेको बैठकका आधारमा स्वास्थ्य सेवा विभागले पनि स्वास्थ्य सामाग्री खरीदका लागि टेन्डर प्रक्रिया शुरु गरेकोमा अहिले आएर रद्द गरेको छ। समिति बैठकको निर्णय नम्बर ११ मा भनिएको छ, ‘कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न आवश्यक पर्ने औषधि तथा उपकरणहरू निजी क्षेत्रबाट प्रतिस्पर्धात्मक रूपमा खरिद गर्ने व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने । निर्धारित अवधिभित्र निजी क्षेत्रबाट प्रतिस्पर्धात्मक रूपमा औषधि, उपकरण तथा सामग्री पर्याप्त आपूर्ति हुन नसकेमा जीटूजी प्रक्रिया अवलम्बन गरी खरिद गर्ने ।’ बिहीबार समितिमा यस विषयमा छलफल भए पनि निर्णय नभएको बैठकपछि प्रवक्ता युवराज खतिवडाले पत्रकारहरूलाई बताएका थिए ।
उता सेनामार्फत स्वास्थ्य सामग्री किन्ने सरकारको परिपत्र गएपछि स्वास्थ्य सेवा विभागले टेन्डर आह्वान गर्ने प्रक्रिया रोकेको विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए। महानिर्देशक श्रेष्ठले जतिसक्दो छिटो टेन्डर आह्वान गरिने जानकारी दिंदै आबश्यक उपकरण र सामाग्रीकाबारेमा क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) अन्तर्गतको उपसमितिमा छलफल भइरहेको जानकारी दिए।
स्रोतका भनाइमा, पहिले २४ घण्टे टेन्डर खोल्ने र त्यसमा सन्तोषजनक प्रस्ताव नआएको कारण देखाउँदै सेनामार्फत जीटूजी प्रक्रिया थाल्ने तयारी हुन सक्छ ।
यसैबीच कोरोना भाइरस फैलिन सक्ने भयकाकारण नेपाली जनता आतंकित बनिरहेका बेला कोरोना भाइरस नियन्त्रणको जिम्मेवारी बोकेको नेपाल सरकार र कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिबीच समन्वय नहुँदा कोराना भाइरस नियन्त्रण सम्बन्धि सामग्री खरीद प्रक्रिया अन्यौलग्रस्त बनेको छ। यी दुई जिम्मेवार निकायबीचको बिबादास्पद निर्णयले नेपालमा कोराना भाइरस नियन्त्रण सम्बन्धि सामग्री बेलैमा आउनेमा आशंका पैदा भएको छ।