नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रण सम्बन्धि औषधि खरिद प्रक्रियामा ढिलासुस्ती र अनियमितता गर्ने कार्यमा संलग्नहरुलाई जिम्मेवारीबाट मुक्त गर्न सरकारलाई आग्रह गरेको छ । साथै कांग्रेसले त्यसको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत हुनुपर्नेमा जोड दिएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति एबम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति जारी गरेर सरकारलाई यस्तो आग्रह गरेका हुन्।
औषधि खरिद प्रक्रियामा ढिलासुस्ती र अनियमितता गर्ने कार्य माफी योग्य नभएको जनाउदै देउबाले अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्याएको उल्लेख गरेका छन्
देउबाले बिज्ञप्तिमार्फत औषधि खरिद प्रक्रियामा ढिलासुस्ती र अनियमितता गर्ने कार्यको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने बताएका छन् । ‘अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफीयोग्य छैन,’ देउवाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यो ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारबाहीको प्रक्रियालाई सघाउन म प्रधानमन्त्रीलाई आग्रह गर्दछु।’
मेडिकल सामग्री खरिद प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइरहेको एवं समाचार लेख्ने र बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएको देउवाको आरोप छ ।
लकडाउनका कारण एक ढंगले बन्द समाजको स्थिति बनेका बेला भ्रष्ट्राचार प्रकरणले सहजता पाउनसक्ने कांग्रेसको आशंका छ । त्यसैले सम्बन्धित संवैधानिक निकायले चनाखो भइ काम गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
नेपाली कांग्रेस सबैखाले अनियमितता र बेथितिविरुद्ध निरन्तर उभिने, तर संकटसँग जुध्न निरन्तर सरकारको साथमा रहने देउवाको विज्ञप्तिमा उल्लेख छ ।