पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले मंगलबार एक विज्ञप्तिमार्फत सन्देश जारी गर्दै हिमाल कोषमार्फत दुई करोड योगदान गर्ने घोषणा गरेका हुन् ।
उनले आफ्नो बिज्ञप्तिमा ‘दु:ख-कष्ट र आपत-बिपदको यो घडीमा सबैका साथमा साथ दिदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू दुई करोड दिई नेपाल सरकारको मा दाखिला गर्न बुझाएका छौं’, भनेका छन्।
मानव अस्तित्व रक्षाका निम्ति भई रहेको पहल प्रति सम्बेदनशील हुँदै हामी सबैले आ-आफ्नो ठाँउ र क्षमताबाट केही न केही योगदान पुर्याउनु अनिवार्य भएको उनले आफ्नी बिज्ञप्तिमा उल्लेख गरेका छन्।
‘यो अबस्थाबाट मुक्त हुन “लकडाउन” नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्र जिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ’, शाहले भनेका छन्, ‘महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्याउने सन्चारकर्मी एवम पत्रकारहरूप्रती हामी आभारी छौँ।’
आम नेपाली दाजुभाई तथा दिदी बहिनीले दु:खको घडीमा अभाव र समस्या सहेर पनि यस बिरुद्ध लड्न अनुशासन तथा धैर्यता देखाएको पनि उनले बताएका छन्।
राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भै रहेको बेलामा यसको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउन शाहले अनुरोध गरेका छन्।