सर्वोच्च अदालतको आदेशमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यद्वय नवीन विक ‘हितमान’ र धीरेन्द्रा उपाध्याय ‘भृकुटी’ आज रिहा भएका छन्। नेत्री भृकुटी अखिल नेपाल महिला संघ ( क्रान्तिकारी) की महासचिव समेत हुन् ।
उनीहरुलाई सर्बोच्च अदालतका माननीय न्यायाधिसद्वय टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले आज रिहा गर्न आदेश थियो। अदालतले फरक विचार र आस्था राखेकै आधारमा प्रवृत्त भावना लिई विना कारण र आधार विक र उपाध्यायलाई पटक पटक थुनामा राखेको देखिएकाले सर्वोच्च अदालतको नियमावली २०७४ को नियम३७(क) र (ख)का आधारमा निवेदकको थुना गैरकानुनी देखिएको रिहा गर्न आदेश दिईएको छ ।
नेत्री भृकुटीको हकमा सर्मिला उपाध्याय र नविनको हकमा एकता विश्वकर्माले विना कारण पटक पटक प्रहरीले गिरफ्तार गरि गैरन्यायीक रुपमा हिरासतमा राखेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको छुट्टाछुट्टै रिट निवेदनमा आज सुनुवाई गर्दै सर्बोच्च अदालतले उनीहरुलाई रिहा गर्न आदेश दिएको थियो। निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु चिरन्जीवि ढकाल, सन्तोष भण्डारी, खिमानन्द अधिकारी र लक्ष्मी(नानी)थापाले बहस गरेका थिए ।
नेता विकलाई गत असोज ७ गते र नेतृ भृकुटीलाई साउन १४ गते काठमाण्डौंबाट पक्राउ गरिएको थियो ।पक्राउ पछि नख्खुको एनसेल कार्यलयमा बिष्फोट लगायतको मुद्धामा नख्खु कारागारमा राखिएका उनीहरु माघ १६ गते केन्द्रीय सदस्य माईला लामासगँै उच्च अदालत पाटनको आदेशमा रिहा भएका थिए । त्यस पछि अदालत परिसरबाटै पक्राउ गरी पुनः सुनसरीको धरान लगेर उनीहरुलाई हतियार तथा संगठित अपराध मुद्धा चलाईएको थियो ।
सुनसरी जिल्ला अदालतले फागुन ४ गते साधारण तारेखमा रिहा गरेको थियो । तर अदालत परिसरबाटै उनीहरुलाई कालिकोट पुर्याईएर बम विस्फोट सम्बन्धी मुद्धा लगाएको थियो ।
कालिकोट जिल्ला अदालतले पनि फागुन १२ गते उक्त द्दटनामा संलग्नता नरहेको भन्दै साधारण तारेखमा रिहा गरेको थियो । लगत्तै अदालत परिसरबाटै पक्राउ गरि दैलेख लगिएको थियो ।
दैलेख प्रहरी हिरासतमा रहेकै बेला बन्दीप्रत्यक्षीकरणको मुद्धा सर्वोच्च अदालतमा दायर भएको थियो । सर्वोच्चले चैत ३ गते रिहा गर्न आदेश दिएपनि गेटबाटै पुन पक्राउ गरी भक्तपुर पुर्याईएको थियो । आज पुनः सर्वोच्च अदालतको आदेशमा नै उनीहरु रिहा भएका हुन् ।