क्वारेन्टाइनमा राखिएका एक जना मुटुरोगीको बुधबार दिउँसो मृत्यु भएको छ। मुटु सम्बन्धि रोगबाट पिडित कास्कीको रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपालीको बुधबार दिउँसो मृत्यु भएको हो।
रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाका अनुसार, १२ दिनअघि भारतको हैदराबादबाट फर्किएका उनलाई मंगलबारदेखि रुपा गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको थियो। बुधबार बिहान खाना खाएर सुतेका उनी अबेरसम्म पनि नउठेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
नेपालीमा मुटु तथा कलेजोको समस्या रहेको परिवारका सदस्यले जानकारी दिएको रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । उनीमा कोरोनाको कुनै संक्रमणको लक्षण नदेखिए पनि भारतबाट फर्किएका कारण मंगलबारदेखि क्वारेन्टाइनमा राखिएको थियो ।