पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको बेलायतका युवराज चार्ल्सलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।
बकिङहम प्यालेसका एक प्रवक्ताले ७१ वर्षीय चार्ल्सलाई कोभिड-१९ पुष्टि भएको बुधबार जानकारी दिएका हुन्। ७१ वर्षीय राजकुमार चार्ल्सलाई सामान्य लक्षण देखिए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनका प्रवक्ताले जानकारी दिएका छन्।
उनकी पत्नी ७२ वर्षीया क्यामेलालाई भने कोरोना भाइरस देखिएको छैन। क्यामेलियालाई पनि टेस्ट गरिएको तर उनीमा कोरोना भाइरस संक्रमण नदेखिएको बिबिसीले जानकारी दिएको छ।
उनीहरु दुवैजना अहिले स्कटल्यान्डमा सेल्फ आइसोलेसनमा छन्। कहाँबाट भाइरस संक्रमण भयो भन्नेबारे स्पष्ट हुन नसकेको पनि बिबिसीले लेखेको छ।
युवराज चार्ल्स महारानी एलिजावेथका उत्तराधिकारी हुन्। उनले महारानीलाई १३ दिनअघि भेटेका थिए। चार्ल्सलाई कोरोना देखिएपछि दरबारका केही व्यक्तिहरूलाई आइसोलेसनमा राखिएको छ।
पछिल्लो समय बेलायतमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको छ।
बुधबारसम्म त्यहाँ ८ हजार ७७ जनालाई कोरोना भाइरस पुष्टि भएको छ भने ४ सय २२ जनाको मृत्यु भएको छ।