लकडाउन उल्लंघन गरेको भन्दै साइकलयात्रीमाथी प्रहरीद्वारा निर्मम तरीकाले कुटपिट (भिडियोसहित)

लकडाउन उल्लंघन गरेको भन्दै साइकलयात्रीमाथी प्रहरीद्वारा निर्मम तरीकाले कुटपिट (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ चैत्र २०७६
  • 8.1K
    Shares

लकडाउन नटेरेको भन्दै साइकलयात्री युवकमाथि प्रहरीको निर्मम कुटाई

दुईजना प्रहरीले एक साइकल यात्रीलाई निर्मम तरीकाले लाठी प्रहार गरेको भिडियो आज बिहानैदेखि सामाजिक संजालमा भाइरल बनिरहेको छ।  त्यो भिडियो सुनसरी जिल्लाको इटहरी उपमहानरगपालिका अन्तरगत पर्ने खनारको हो, जसमा लकडाउन उल्लंघन गरेको भन्दै साइकलमा हिँडिरहेका एक युवकलाई प्रहरीले निर्मम तरीकाले कुटिरहेका छन् ।

कोरोना रोकथामका लागि सरकारले लागू गरेको लकडाउन कार्यान्वयमा खटिएका दुई प्रहरी कर्मचारी सडक किनारमा बसिरहेका देखिन्छन् । साइकल उनीहरुको छेऊ आएपछि एकजनाले ‘यहाँ आइज’ भनेर युवकलाई बोलाउँछन् ।

‘के काम थ्यो ?’, एक प्रहरीले प्रश्न गर्छन् ।

‘यहाँ अंकललाई भेट्न आएको…’, युवकले जवाफ फर्काउँछन् ।

त्यसपछि बोलेको आवाज स्पष्ट सुनिँदैन ।

‘अंकललाई… के विशेष काम… ?’

‘सँगै काम गथ्र्यौं, त्यही भएर भेट्न आएको’

‘ए… हो विशेष काम केही छैन, तेरो ?’

‘केही छैन ।’

यति भन्ने वित्तिकै ‘ए… हो विशेष काम केही छैन तेरो’ भन्दै प्रहरी कर्मचारी लाठी लिएर उठ्छन् । र, युवकलाई हिर्काउँछन् ।

युवकले विस्तारै साइकल पछाडि सार्छन् ।

प्रहरीले फेरि विशेष काम केही थिएन ? भनेर सोध्छन् ।

‘विशेष… त्यही अहिले पैसा निकाल्नुथियो…’, युवकले बोल्दाबोल्दै प्रहरीले फेरि लाठी प्रहार गर्छन् ।

चारपटक लाठी हानेपछि अझै अटेरी गर्दोरहेछ भनेको सुनिन्छ । त्यसपछि युवक साइकल चढेर फर्किन्छन् ।

प्रहरीको यस कार्यलाई धेरैले राम्रो मानेका छन्।  तर नेपालको कानूनअनुसार सर्वसाधारणलाई प्रहरीले त्यसरी दुर्व्यवहार गर्न मिल्दैन । त्यसैले प्रहरी प्रधान कार्यालय, नक्सालले दुवैजना प्रहरीलाई कारवाही गर्ने तयारी गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एआईजी शैलेश थापा क्षेत्री भन्छन्, ‘यो घटना इटहरी, खनारको रहेछ । दुवैजनालाई विभागीय कारवाही हुन्छ ।’

प्रतिक्रिया