सरकारले घोषणा गरेको लकडाउनलाई अवज्ञा गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर २९ पावर हाउसस्थित प्रशस्त कटनी मण्डलीका पास्चर केशवराज आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।
कोरोना भाइरस फैलिन नदिन भन्दै सरकारले घरबाट ननिस्कन सबैलाई निर्देशन दिएको अवस्थामा सुकुम्बासी बस्तीका जनतालाई ‘प्रभु येशुका अनुयायी बनेमा कोरोना भाइरसले छुन नसक्ने’ प्रवचन दिएर भ्रम फैलाएको आरोप पास्चर आचार्यलाई लगाइएको छ।
जुम्ला घर भइ पोखरा–२९ पावर हाउस बस्दै आएका उनी स्थानीय प्रशस्त कटनी मण्डलीका पास्चर हुन् । ‘राज्यले अपनाएको कोरोना संक्रमितको पूर्वसावधानी अभियानमा साथ दिनुपर्नेमा उल्टो निरुत्साहित गरिएको पाइएकाले’ सोमबार साँझ आचार्यलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए।
सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि घोषणा गरेको लकडाउनका कारण जनजीवन ठप्प छ । फाट्टफुट्ट सवारी साधन चले पनि बजार पुरै बन्द छ । केही सर्वसाधारण भने सडकमा हिँडेका छन् । प्रहरीले माइकिङ गरी अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन भनेको छ । केही मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।