कोरोना भाइरस संक्रमणको भय देखाउदै नेपाल सरकारले सिमा नाका बन्द गरेर सवारी साधनलाई एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाए लगत्तै गण्डकी प्रदेश सरकारले पनि आजबाट सीमा नाका पूर्ण रुपमा बन्द गर्ने भएको छ।
गण्डकी प्रदेश सरकारले प्रदेश भित्रिने नाकाहरू स्याङजाको रामदी, नवलपुरको त्रिवेणी, दाउन्ने, गैडाकोट, तनहूँको मुगलीन, गोरखाको आरुघाट र बेनीघाट, मुस्ताङको कोरला लगायत नाकाबाट प्रवेश रोक्ने भएको छ। अव १५ दिन पूर्ण रुपमा आवतजावत रोकिने छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशलाई लक्दाउन गर्नुपर्ने कारण बारे स्पस्ट पार्दै अघि भने, ‘भारतीयहरू नेपाल आइरहेको अवस्थामा उनीहरुसंगै कोरोना भाइरसको संक्रमण फैलियो भने त्यसबाट जोगाउने संरचना केही छैन। जनशक्ति छैन। चाइना जस्तो नेपाल सक्षम होइन नि,’ मुख्यमन्त्री गुरुङले अघि थपे , ‘बेलैमा सचेत हुनुपर्छ, त्यसैका लागि यो निर्णय गरिएको हो।’ उनले अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन आग्रह गरेका छन् । उनले सबैलाई संयमता अपनाउन आग्रह गर्दै “भेटघाट, बैठक वा अन्य कुनै कामका लागि नजान’ पनि अनुरोध गरे ।
यसैबीच प्राप्त जानकारी अनुसार, पोखराको फेवातालमा डुंगा समेत नचल्ने भएका छन् । फेवा डुंगा व्यवसायी समितिको आइतबार बसेको बैठकले आगामी एक सातासम्म डुंगा नचलाउने निर्णय गरेको हो ।
विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको प्रभावबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न डुंगा नचलाउने निर्णय गरिएको समिति अध्यक्ष बुद्धिबहादुर नेपालीले जानकारी दिए ।
यता पोखरा उद्योग वाणिज्य संघले कोरोना भाइरस ( कोभिड–१९ को सम्भावित संक्रमणबाट जोगिन अत्यावश्यकबाहेकका सबै उद्योग र व्यावसायिक प्रतिष्ठान बन्द गर्न उद्योगी÷व्यवसायीहरुसँग आग्रह गरेको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट गएको शुक्रबार राष्ट्रको नाममा संवोधन गर्दै कोरोना संक्रमणबाट बच्न र बचाउनका लागि गरिएको अपीलको अक्षरस पालना गर्न आग्रह गरेको हो । प्रधानमन्त्रीको संवोधनमा चैत ९ गतेबाट २१ गतेसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्न आह्वान गरेका थिए । सरकारले विभिन्न १९ वटा सेवालाई अत्यावश्यक मानेको छ । संघको विज्ञप्तिमा औषधि, पानी, इन्धन, दूध÷तरकारी÷खाद्यान्न लगायतका अत्यावश्यक सेवा प्रदान गर्ने उद्योगी÷व्यवसायीहरुलाई पनि सुरक्षाका सबै उपाय अवलम्बन गर्न आग्रह गरिएको छ । अत्यावश्यक सामान उत्पादन गर्ने उद्योग संचालन गर्दा पनि यही प्रक्रिया अपनाउन संघको आग्रह रहेको छ ।
संघका महासचिव अर्जुन पोखरेलद्धारा जारी विज्ञप्तिमा अत्यावश्यक बाहेकका सबै उद्योग÷व्यवसाय बन्द गर्ने, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने, भीडमा नजाने र ‘सेल्फ क्वारेण्टाइन’को विधिको पूर्ण पालना गर्न भनिएको छ ।
‘औषधि, पानी, इन्धन, दूध÷तरकारी÷खाद्यान्न लगायतका सेवाहरु प्रदान गर्नुपर्ने दायित्व पनि व्यवसायीहरुमाथि नै रहेको छ ’, विज्ञप्तिमा भनिएको छ,‘पोखरा उद्योग वाणिज्य संघ, संकटको यो घडीमा अत्यावश्यक सेवा प्रवाह गर्ने उद्योगी÷व्यवसायीहरुलाई सुरक्षाका सम्पूर्ण प्रबन्धसहित सेवा प्रवाह गर्न हार्दिक अपील गर्दछ ।’
यसैगरि संघले संकको यो घडीमा तोकिएको भन्दा बढी मूल्यमा सामान नलिन र आवश्यकताभन्दा बढी सामान भण्डारण नगर्न उपभोक्तासँग पनि आग्रह गरेको छ । संघले यसअघि पनि विज्ञप्ति जारी गर्दै ‘तोकिएको भन्दा बढी मूल्य नलिन र बिक्री बितरण तथा ढुवानी कार्यलाई पारदर्शी बनाउन माग गरेको थियो ।
संघले पोखराको टे«ड मलले त्यहाँ भाडामा रहेका व्यवसायीहरुलाई चैत महिनाको घर भाडामा ५०प्रतिशत र पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले एक महिनाको भाडा छुट दिएकोमा धन्यवाद ज्ञापन गर्दै यो अभियानमा सरिक हुन अन्य घरधनीहरुलाई पनि आग्रह गरेको छ ।
‘व्यवसाय नै बन्द गरी महामारी विरुद्धको अभियानमा लागि रहँदा पनि उद्योगी÷व्यवसायीलाई सुख छैन । बैंकको ब्याजदर र मासिक घरभाडाको तरबार टाउकोमा झुण्डिएकै छ’, महासचिव पोखरेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ संकटको यो घडीमा सक्दो विवेक प्रयोग गर्न संघ सम्पूर्ण घरबेटीहरुसँग हार्दिक अपील पनि गर्दछ । ’ संघले कर्जाको ब्याज मिनाहा र किस्ता बुझाउने समयसीमा बढाउन सरकारको ध्यानाकर्षण पनि गराएको छ । सीमा नाकामा भएको स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाउन, स्वास्थ्य सेवाको सुनिश्चितता ग्यारेण्टी गर्न पनि संघले सरकारसँग माग गरेको छ ।