उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले गण्डकी प्रदेश सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन्। व्यवसायी र जनप्रतिनिधिसँगको भेटवार्तामा उपप्रधानमन्त्री पोखरेलले सङ्घीय सरकारमाथि दोष थोपारेर गण्डकी प्रदेश सरकार आफ्नो जिम्मेवारीबाट पन्छिरहेको अभिव्यक्ति दिए।
‘आफूले गर्नुपर्ने र गर्न सक्ने काम नगर्ने, खाली सङ्घीय सरकारलाई गाली गर्ने ?,’ आइतबार उनलाई भेट्न पोखराबाट काठमाडौँ पुगेको प्रतिनिधि मण्डलसँग उपप्रधानमन्त्री पोखरेलले भने, ‘म ठोकेर भन्छु, यो सरकारले गरी खाँदैन।’
पोखराका व्यवसायीले ज्ञापन पत्र बुझाइसकेपछि प्रदेशसभा सांसद राजीव पहारीले रत्न मन्दिर र हिमागृह छिटो खुला गर्न आग्रह गरेका थिए। नेपाल ट्रस्टका अध्यक्षसमेत रहेका पोखरेल सोही विषयमा झोक्किएका थिए। उनले प्रदेश सरकारको बेवास्ताका कारण पोखराको रत्न मन्दिर र हिमागृह सार्वजनिक रूपमा खुला गर्न ढिला भइरहेको टिप्पणी गरे।
‘यहाँ तपाईंहरु सबै पोखराको हुनुहुन्छ। आज मैले भन्नै पर्छ, सङ्घीय सरकारका कारण रत्न मन्दिर र हिमागृह नखोलिएको जसरी प्रचार गरिँदै छ,’ उनले भने, ‘आफूले गर्नुपर्ने काम केही नगर्ने खालि माथि माथि दोष देखाएर बस्ने ? तपाईंहरुले गरी खानुहुन्न।’
पोखरेलले प्रदेश सरकारलाई रत्न मन्दिर र हिमागृह सञ्चालनसम्बन्धी प्रस्ताव पेस गर्न पटक पटक ताकेता गरे पनि काम नगरेको आरोप लगाए। ‘त्यो नेपाल ट्रस्टको नाममा रहेको सम्पत्ति हो, यत्तिकै दिन मिल्दैन,’ उनले भने, ‘सञ्चालनसम्बन्धी एउटा प्रस्ताव बनाउनुस्, सम्झौता गरिहालौं भनेको थिएँ। अहिलेसम्म १ प्रस्ताव पेस गर्न सकेका छैनन्। अनि ठूला कुरा गर्ने ?’
उनले रत्न मन्दिरका लागि भनेर आफू ३ दिन पोखरा बसेकोसमेत स्मरण गरे। ‘काम गरौँ भन्ने हो भने म त्यही भएको बेलामा २ दिनभित्रै प्रस्ताव बनाएर ल्याउन सकिन्थ्यो,’ उनले भने, ‘आफू काम नगर्ने अनि सङ्घीय सरकारलाई दोष दिने, यो ठिक नियत होइन। प्रस्ताव ल्याउनासाथ सम्झौता गर्न तयार छौँ।’
उपप्रधानमन्त्री पोखरेलले केन्द्रलाई भन्दा प्रदेश सरकारलाई दबाब दिन सांसद पहारीलाई सुझाव दिए। ‘रत्न मन्दिरभित्र जाँदै फोटो खिच्दै गर्नुभन्दा प्रदेश सरकारलाई दबाब दिनुस्। छिटो प्रपोजल तयार पार्न लगाउनुस्,’ उनले भने। सांसद पहारीले भने आफू दिन रात यसैका लागि खटिएको तर रिजल्ट नआएको गुनासो गरेका थिए।