उदयपुरबाट गिरफ्तार गरिएका आफ्ना १४ जना कार्यकर्तालाई धनुषाको गणेशमान चारनाथ नगरपालिका-५ की १४ वर्षीया बालिका करिना मोक्तानलाई अपहरण गरेको आरोप लगाएकोप्रति बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोले आपत्ति प्रकट गरेको छ।
ने.क.पा. जनकपुर ब्युरो इन्चार्ज आधारले एक प्रेस बिज्ञप्ति प्रकाशित गर्दै सरकारी आरोपको खण्डन समेत गरेका छन्। उनले आफ्नो बिज्ञप्तिमा ‘ने.क.पा.का नेता–कार्यकर्तालाई अपहरणको आरोप लगाउँदै गिरफ्तार गर्ने कार्य पार्टीलाई जनताबाट अलग्याउने साम्राज्यवादी डिजाइन’ भएको बताएका छन्। त्यस वक्तव्यमा , ‘जनताका पक्षमा निरन्तर सङ्घर्ष गर्दै अगाडि बढेको राजनीतिक पार्टीलाई जनताबाट अलग्याउने साम्राज्यवादी डिजाइनअन्तर्गत झूट्टा र कपोलकल्पित विषयलाई प्रचार गर्दै हिँड्नुले वर्तमान राज्यसत्ताको षड्यन्त्रको स्तरलाई प्रस्ट’ पारेको उल्लेख गरेका छन्।
शान्तिपूर्ण ढङ्गले जनताका बीचमा रहेका कार्यकर्तालाई फसाउन हातहतियार, बम, विस्फोटक पदार्थजस्ता विषयसँग जोडेर झूट्टा मुद्दामा फसाउने सरकारी हर्कतको भण्डाफोर गर्दै सो विज्ञप्तिमार्फत गिरफ्तार सबै कार्यकर्ताहरूको रिहाइको माग गरिएको छ । अन्यथा कडा सङ्घर्ष गरिने चेतावनी पनि सोही विज्ञप्तिमार्फत दिइएको छ।
प्रहरीले ती बालिकालाई पूर्णकालीन कार्यकर्ता बनाउन अपहरण गरिएको भनि दिएको अभिव्यक्तिप्रति संकेत गर्दै बिज्ञप्तिमा, सामान्य ढङ्गले गाउँघरमा सङ्गठन निर्माण गर्दै हिँडेका कार्यकर्ताहरूलाई कथित अपहरणजस्तो कृत्रिम आरोप लगाइएकोमा पार्टी खण्डन गर्दछ साथै बालबालिकालाई पूर्णकालीन कार्यकर्ता बनाउने पार्टीको कुनै नीति नरहेको पनि प्रस्ट पार्न चाहन्छौँ ।’ भनिएको छ।
वक्तव्यको पूर्णपाठ…

धनुषाको गणेशमान चारनाथ नगरपालिका-५ की १४ वर्षीया करिना मोक्तानलाई अपहरण गरेको आरोप लगाउदै मा प्रहरीले बिद्रोही ने.क.पा. १४ जना कार्यकर्तालाई ठुलो संख्यामा हतियारसहित गिरफ्तार गरेको दाबी गरेको थियो। बुधबार अपहरमा परेको भनिएकी ती बालिकालाई प्रहरीले उदयपुरबाट सकुशल उद्धार गरेको दाबी गर्दै उनलाई अपहरण गरेको आरोप लगाएर १४ जना कार्यकर्ता गिरफ्तार गरिएको भनेको थियो ।
प्रहरीको गिरफ्तारीमा पर्नेमा २० वर्षीय मुस्कान राई, २८ वर्षीय विवेश खड्का, १६ वर्षीय रिता कार्की, २० वर्षीय विकास राई, १७ वर्षीय आयुष मगर र १८ वर्षीय अविमान तामाङ छन् । यसैगरी २० वर्षीय आशिष लामा, १६ वर्षीय रञ्जना राई, १९ वर्षीय अनिता राई, १९ वर्षीय अनुश्का राउत, १७ वर्षीय सपना राई, ४६ वर्षीय मणीराज राई र १५ वर्षीय आशिष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको थियो । उनीहरुको साथबाट तीन वटा पेस्तोल, नौ वटा सकेट बम तथा ६ वटा प्रेसर कुुकर बम बरामद भएको प्रहरीले जानकारी दिएको छ ।