सेवाग्रहीबाट घुस लिएर दोलखाबाट सरकारी गाडी चढेर भागेकी डिभिजन वन कार्यालय दोलखाकी प्रमुख सन्तमाया श्रेष्ठलाई अख्तियारको टोलीले भक्तपुरको गठ्ठाघरबाट घुस रकमसहित पक्राउ परेकी छिन।
प्रमुख श्रेष्ठलाई बिहीबार साँझ ६ बजे गठ्ठाघरमा उनी चढेको गाडी नियन्त्रणमा लिएर खानतलासी गर्दा उनको साथबाट दुई लाख चार हजार नगद बरामद गरिएको अख्तियारका एक अनुसन्धान अधिकृतले जानकारी दिए ।
एक सेवाग्राहीसँग घुस लिएर दोलखाबाट भागेकी उनलाई अख्तियारको टोलीले भक्तपुरको गठ्ठाघरमा गाडी र घुस रकमसहित पक्राउ गरेको हो ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, जिल्ला अदालत कपिलवस्तुमा दोभाषेको रुपमा करारमा कार्यरत बिश्वनाथ कुर्मी (चौधरी) २ लाख घुससहित पक्राउ परेका छन् ।
उनले ठगी मुद्दा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धानको बुटवल कार्यालयले पक्राउ गरेको हो ।
सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा कपिलवस्तु नगरपालिका वडा नम्बर १ स्थित महामाया प्रेस गौढीचोकबाट उनलाई बिहीबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । उनीबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।