नेपाल आउने तेस्रो मुलुकका पर्यटकका लागि अब स्थलमार्ग बन्द भएको छ । भारतले १५ अप्रिलसम्मका लागि सबै मुलुकका पर्यटकको भिसा रद्द गरिदिए पछि अब भारतीय स्थलमार्ग हुँदै नेपाल छिर्ने तेस्रो मुलुकका पर्यटकको समेत बाटो बन्द भएको हो । चीनतर्फको सीमा नाका यस अघि नै बन्द भैसकेको छ ।
सन् २०२० को फेब्रुअरीमा कूल १ लाख १ हजार ४ सय जना पर्यटक नेपाल आएका थिए । यसमध्ये स्थलमार्गबाट मात्र करीव २४ हजार ३ सय ३६ जना पर्यटक नेपाल भित्रिएका छन् । यी अधिकांश दक्षिणतर्फका नाकाबाट छिरेका पर्यटक हुन् ।
भारत सरकारले सबै देशका नागरिकलाई भारत यात्रामा प्रतिवन्ध लगाउने निर्णय गरेको छ । यसले अब नेपाल र भारतीबीचको हवाई यात्रा समेत प्रभावित हुने भएको छ । यद्यपी आकस्मिक काम परेको अवस्थामा दूतावासमा सम्पर्क गरी यात्रा अनुमति लिन सकिने प्रावधान भारत सरकारले ल्याएको छ ।
नियमित यात्रुमाथि लागेको प्रतिवन्धले अब भारततर्फको समग्र यात्रा नै प्रभावित हुने नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष मधुसुदन उपाध्यायले जानकारी दिए ।
भारतीय स्वास्थ्य मन्त्रालयको एडभाइजरीमा नेपालको हकमा के हुने भन्ने स्पष्ट छैन । सबै मुलुकको भिसा रद्द भनिएको छ । तर, नेपालीले भारत जाँदा भिसा लगाउनु पर्दैन ।
फेब्रुअरी महिनामा हवाई यात्राबाट ७७ हजार ६४ जना पर्यटक आएका छन् । गत वर्षभन्दा यो वर्ष हवाई यात्रु केही बढेका छन् । स्थलमार्गबाट भने २४ हजार ३ सय ३६ जना पर्यटक नेपाल आएको अध्यागमन विभागलाई उद्धृत गर्दै पर्यटन बोर्डले जानकारी दिएको छ ।