उत्तरी रोल्पास्थित थबाङ गाउँपालिकाको वडा नम्बर ३ स्थित प्रहरी इकाइ मिरुल रानागाउँ कार्यालय नजिक रहेको जंगलबाट दुई बोरा सकेट बम बरामद भएको छ । घाँस काट्न गएकी एक महिलाले बोरामा शंकास्पद बस्तु सकेट बम देखेपछि प्रहरीलाई खबर गरेकी थिइन।
जंगलमा दुई बोरा सकेट बम फेला परेको सुचना आएपछि करिब १ सय मिटर टाढा रहेको मिरुल रानागाउँस्थित प्रहरी इकाइबाट प्रहरी हवल्दार डम्बरबहादुर चलाउनेको नेतृत्वको प्रहरी टोलीले सो बम रहेको क्षेत्र नियन्त्रणमा लिएको छ। सो बम रहेको क्षेत्र नजिकै थबाङ गाउँपालिकाको वडा नम्बर ३ को कार्यालय मिरुल रहेको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले बम भएको क्षेत्रलाई प्रहरी नियन्त्रणमा लिइएको बताए प्रनाउ गुरुङका अनुसार बम राखिएको बोरा निकै पुरानो र च्यातिएको जस्तो देखिएकाले तत्कालीन सशस्त्र द्वन्द्वका बेला विद्रोहीले बम राखेको हुन सक्ने अनुमान गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्माले बम फेला पारिएपछि सुरक्षा समितिको बैठक बसेको बताए । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा सुरक्षा समितिको बैठक बसेको थियो । समितिका अनुसार बम निस्क्रिय पार्न रोल्पास्थित नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बिहीबार घटनास्थल पठाउने निर्णय भएको छ । सदरमुकाम लिबाङदेखि मिरुल करिब ५० किलोमिटर उत्तरमा पर्छ ।
शान्ति प्रक्रियापछि जिल्लाका विभिन्न स्थानमा बम, बारुद र हतियार भेटिएका छन् । यहीबाट सुरु भई करिब १० वर्ष चलेको माओवादी सशस्त्र द्वन्द्वका क्रममा विद्रोहीले व्यापक मात्रामा विस्फोटक पदार्थ प्रयोग गरेका थिए ।