नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आज बिहान पूर्वमन्त्री एवं नेकपा नेता गोकुलप्रसाद बाँस्कोटाको भक्तपुर लोकन्थलीमा निर्माणाधीन घर बाहिर रिमोट मार्फत प्रेसर कुकर बम बिस्फोट गराएका छन्।
विस्फोटबाट बाँस्कोटाको घरसँगै रहेका अरु तीन वटा घरमा पनि सामान्य क्षति पुगेको छ। साथै बाँस्कोटाको घर अगाडि पार्किङ गरेर राखिएको बा १९ च ४७८१ नम्बरको एउटा डेलिभरी भ्यान पनि क्षतिग्रस्त भएको छ ।
बुधबार बिहान ७ बजेर ४० मिनेट जाँदा बाँस्कोटाको घर नजिक बम विस्फोट भएकोमा विस्फोट गराउन प्रयोग गरिएको रिमोट घटनास्थलबाट करिब १० मिटरको दूरीमा भेटिएको प्रहरीले जनाएको छ। त्यस्तै घटनास्थलमा चन्द समूहले बाँस्कोटाको घरमा विस्फोट गराएको स्वीकारोक्तिसहितको पर्चा भेटिएको प्रहरीले जानकारी दिएको छ। विष्फोटक पदार्थ कति शक्तिशाली थियो भन्ने विषयमा नेपाली सेनाको पोष्ट ब्लास्ट इन्भेस्टिगेसन (पीबीआई) टोलीले अनुसन्धान गरिरहेको छ ।
पूर्वमन्त्री बाँस्कोटा मन्त्री भएदेखि बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा बस्दै आएका थिए। मन्त्री पदबाट राजीनामा दिएपछि पनि उनी सुरक्षाका कारण परिवारसहित ओली निवासमै बस्दै आएका छन्। बुधबार बिहान पनि बाँस्कोटा बालकोटमै थिए।
घटनास्थलमा भेटिएको उक्त पार्टीको पर्चामा बाँस्कोटालाई किन कारबाही भनेर १० बुँदा लेखिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोड घूसमा मोलमोलाई गरेको, २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाेलगायत विभिन्न १० आरोप लगाउँदै विप्लव ने.क.पा.ले बास्कोटाको घरमा विस्फोट गराएको जनाएको छ ।
यी हुन् विप्लव समूहले बास्काेटाविरुद्ध लगाएका १० आरोप
१. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले ।
२. २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले ।
३. १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले ।
४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भुमिका खेलेकाले ।
५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडौँ हिनामिना गरेकाले ।
६. सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।
७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।
८. राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले ।
९. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले ।
१०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले ।
यसैबीच सो बिष्फोटमा संलग्न रहेको आशंकामा म हानगरीय प्रहरी वृत्त ठिमीको टोलीले मनोहरा सुकुम्बासी बस्तीबाट अन्दाजी ५० वर्षका देव गुरुङलाई पक्राउ गरेकोछ। उनी विप्लव नेतृत्वको ने.क.पा. को भक्तपुर जिल्ला कमिटी सदस्य रहेको प्रहरीको दाबी छ ।
गुरुङ मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको घरमा विष्फोट गराइएको प्रकरणमा पनि संलग्न रहेको प्रहरी दाबी छ । उनलाई टेकुमा ल्याएर थप अनुसन्धान गर्ने प्रहरी तयारी छ ।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाको मनोहराफाँटस्थित निवासमा बुधबार बिहान गराइएको विस्फोटको घटनाको निन्दा गरेका छन् । उनले घटना आतंककारी समूहले गराएको टिप्पणीसमेत गरेका छन् ।
नेकपा अध्यक्ष प्रचण्डले एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई नियन्त्रणमा लिएर कडा कानूनी कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् ।