प्रहरी तालिम केन्द्रमा फायरिङका बेला बाहिरबाट मानिसहरू फाइरिङस्थलमा लैजान पाइँदैन। तर प्रेमिकालाई पनि तालिम केन्द्र बोलाएर फायरिङ गर्न दिएपछि एकजना प्रहरी निरिक्षक बिबादमा तानिएका छन्। बिबादमा तानिएका प्रहरी निरिक्षक तालिमे असईहरूको कमाण्ड गर्दै भरतपुर तालिम शिक्षालयका किरण राउत हुन्।
प्रहरी निरिक्षक राउतले एक साताअघि चितवनको भरतपुरस्थित तालिम शिक्षालयमा नयाँ भर्ना भएका प्रहरी सहायक निरीक्षक (असई) हरूलाई बन्दुक चलाउन सिकाउने भनेर नजिकैको फायरिङ रेन्जमा लगिएको थियो। फायरिङका बेला बाहिरबाट मानिसहरू फाइरिङस्थलमा लैजान नमिल्ने नियम बिरुद्ध प्रहरी निरीक्षक राउतले आफ्नी प्रेमिकालाई पनि बोलाएर फायरिङ गर्न दिएको बताइएको छ।
त्यो दिन असईहरूलाई फायरिङका लागि २० राउण्ड गोली छुट्टाइएको थियो। असईहरूका लागि छुट्याइएका तिनै गोलीबाट राउतले आफ्नी प्रेमिकालाई फायरिङ गर्न दिएको स्रोतले जानकारी दिएको छ।
उनले प्रेमिकालाई फ़ाइरिङ्ग गर्न तालिमे असईहरुको गोली दिएपछि बिबाद उग्र बनेको छ। तर प्रहरीले यो घटनामा राउतलाई सचेत गराएर सामसुम पार्न खोजेको बताइएको छ। ।
भरतपुर तालिम शिक्षालयका प्रमुख एसएसपी बुद्धिराज गुरूङले फौजमा कहिलेकाहीँ प्रशिक्षकले आफूले नहानेर आफन्तलाई गोली हान्न दिने चलन पहिलादेखि नै रहेको बताए। यसलाई सामान्य रूपमा लिनु पर्ने उनको भनाइ छ। तर पछिल्लो समय यस्तो चलनलाई आफूहरूले निरूत्साहित गर्ने गरेको एसएसपी गुरुङले बताए।
प्रहरी तालिम शिक्षालय हेर्ने बागमती प्रदेशका प्रहरी प्रमुख किशोरकुमार दाहालले यस विषयमा कुनै जानकारी नआएको बताए।
केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले यसरी प्रशिक्षकले बाहिरी मानिस फायरिङ रेन्जमा लगेर गोली हान्न दिन नमिल्ने बताए।
‘यस विषयमा म बुझ्छु,’ उनले भने, ‘गोली हान्न दिएको भए प्रहरी निरीक्षकमाथि कारबाही हुन्छ।’