कोरोनाभाइरस सङ्क्रमण फैलिने आशङ्कामा उत्तर कोरियामा केही हप्तादेखि क्वारेन्टाइनमा बस्न बाध्य पारिएका झन्डै ६० विदेशी कूटनीतिज्ञ र दूतावासका कर्मचारीहरूले उत्तर कोरियाको राजधानी प्योङ्याङ छोडेका छन्।
उनीहरूलाई लिएर गएको उत्तर कोरियाको राष्ट्रिय ध्वजावाहक विमान सुदूरपूर्वी रुसको भ्लादिभोस्तोकमा सोमवार बिहान अवतरण गरिसकेको एनके न्यूजले जनाएको छ। उडान KOR271 स्थानीय समायानुसार बिहान ८:४० बजे प्योङ्याङबाट उडेको र भ्लादिभोस्तिकमा १०:४७ मा अवतरण गरेको विवरण फ्लाइटअवेअर वेबसाइटले प्रकाशित गरेको छ। उनीहरू कसरी र कहिले आफ्नो देश जान्छन् भन्ने स्पष्ट छैन।
रुसका राजदूत एलेक्सान्दर मात्सेगोराले त्यो परिस्थिति “बाध्यकारी” भएको टिप्पणी गरेका छन्।
उत्तर कोरियामा अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमण फेला परेको पुष्टि भएको छैन। तर केही विज्ञहरू त्यसप्रति शङ्का व्यक्त गर्छन्। उत्तर कोरियाको सीमा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप खेपिरहेका चीन र दक्षिण कोरियासँग जोडिएको छ।
धेरै दूतावास बन्द
उत्तर कोरियाका लागि ब्रिटिश राजदूतले सोमवार बिहान ट्वीट गर्दै “जर्मन दूतावास र फ्रान्सको कार्यालयका सहकर्मीहरूलाई” बिदा गर्दा आफू दु:खी भएको लेखेका छन्।
राजदूत कोलिन क्रूक्सका अनुसार अन्य दूतावास अस्थायी रूपमा बन्दै हुने भए पनि ब्रिटिश दूतावास खुला रहनेछ।
उनले कर्मचारीहरूलाई विमानस्थल लैजाँदै गरेका दुईवटा सवारीसाधनको तस्बिर ट्विटरमा प्रेषित गरेका छन्।
स्वीडनका राजदूत योआखिम ब्यार्गस्टोर्मले आफ्नो सेल्फीसहित ट्विटरमा लेखेका छन्: “म यसअघि किम इल सङ स्क्वाएरमा उभिँदा यति खुसी भएको थिइनँ।” तर अहिले पनि विदेशीहरूलाई रेस्टुराँ, पसल, व्यायामशाला र होटलमा जान तथा स्थानीय बासिन्दासँग भेटघाट गर्न नदिइएको एनके न्यूजले उल्लेख गरेको छ।
अन्तर्राष्ट्रिय समुदायबाट विभिन्न प्रतिबन्ध खेपिरहेको उत्तर कोरियामा ठूलो महामारी फैलिए बिरामीको उपचार गर्न पर्याप्त क्षमता नभएको आशङ्का व्यक्त गरिएको छ।
अहिलेसम्म विश्वभरि १,०७,००० भन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमण र झन्डै ३,६०० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।