नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा.का नारायणी ब्युरो सदस्य एवम् बारा जिल्ला इञ्चार्ज सन्जिवनी भन्ने ईन्द्रबहादुर परियार ‘नयन’लाई प्रहरीले बाराको जितपुरबाट गिरफ्तार गरेको छ ।
बाराको जितपुरबाट ‘नयन’लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख गोविन्द पुरीलेले जानकारी दिए।
नयनलाई बाराका जिल्लाका एनसेल टावरमा आगजनीलगायतका विभिन्न घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएको पुरीको भनाई छ ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टीका नारायणी ब्युरो सदस्य एवम् बारा जिल्ला इन्चार्ज नयनलाई आइतवार दिउँसो १ बजे बारा जिल्लाको जितपुरमा रहेको जमोदिन मियाँको घरमा बसिरहेको बेला गिरफ्तार गरिएकोमा ने.क.पा. नारायणी ब्युरोले प्रेस विज्ञप्ति जारी गरी नयनलाई बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।
ब्युरो इन्चार्ज शितलले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा सरकारले निर्दोष नागरिकलाई गिरफ्तार गर्ने, झूट्टा मुद्दा लगाउने क्रम जारी राखे जनप्रतिरोध हुने चेतावनी पनि दिएका छन् ।
शितलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, निर्दोष नागरिकलाई गिरफ्तार गर्नु, थुनामा राख्नु, झूट्टा मुद्दा लगाउनु सरकारको निन्दनीय कार्य हो । यस्तो कार्यप्रति घोर भत्र्सना गर्दछौँ ।’
ब्युरो इन्चार्ज शितलको विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक दलाल पुँजीवादी सरकार आज निर्दोष नागरिकलाई गिरफ्तार गर्ने, झूट्टा मुद्दा लगाउने, थुनामा राख्ने, यातना दिने, जेल हाल्ने मात्र होइन, गोली हानी हत्या गर्ने गैरकानुनी कार्यसमेत गरिरहेको छ भने अर्कोतिर दलाली, भ्रष्टाचारी, तस्कर र राष्ट्रघाती कित्तामा आफ्नै नाम दर्ता गरेको छ । यसखालको दोषपूर्ण सरकारले निर्दोष नागरिकमाथि गर्ने दमन र अन्याय जनताको तागतले तह लगाउनेछ । गिरफ्तार गरिएका कमरेड नयनलाई बिनासर्त रिहाइको माग गर्दछौँ ।’