धेरै पैसा कमाउने लोभमा प्रहरी र सेनाको जागीर छाडेकालाई विदेश पठाउँछु भन्दै दुई करोड ५० लाख ठगी गर्ने बाबुराम पक्राउ

धेरै पैसा कमाउने लोभमा प्रहरी र सेनाको जागीर छाडेकालाई विदेश पठाउँछु भन्दै दुई करोड ५० लाख ठगी गर्ने बाबुराम पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ फाल्गुन २०७६
  • 3.3K
    Shares

बाबुराम श्रेष्ठ

माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने अर्घाखाँचीका ३८ वर्षीय बाबुराम श्रेष्ठलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न व्यक्तिसँग अफ्रिकी देश माल्टा र कुवेत पठाउँछु भन्दै रु दुई करोड ५० लाख ठगी गर्ने अर्घाखाँचीका ३८ वर्षीय बाबुराम श्रेष्ठलाई शुक्रबार नेपालगञ्जबाट पक्राउ गरी आज काठमाडौँमा सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले राम्रो कमाइ हुने प्रलोभन पारेर माल्टा र कुवेत पठाउने भनी ठगी गर्ने श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए । “पक्राउ परेका श्रेष्ठले माल्टाका लागि २६ जनासँग प्रतिव्यक्ति रु १० लाख र कुवेतका लागि ३४ जनासँग प्रतिव्यक्ति छ लाख लाग्छ भनी ठगी गरेको अनुसन्धानमा खुलेको छ”, प्रवक्ता बोगटीले भने । श्रेष्ठले माल्टा जानेसँग छ/छ लाख तथा कुवेत जानेसँग तीन/तीन लाख उठाइसकेको प्रहरीले जनाएको छ ।

माल्टामा प्रतिमहिना एक हजार २०० युरो र कुवेतमा प्रतिमहिना दुई हजार २०० दिराम कमाइ हुने आश्वासन श्रेष्ठले पीडितलाई दिएका थिए । प्रहरीले पक्राउ परेका श्रेष्ठसँग विदेश पठाउन प्रयोग गरीने नक्कली कागजात तथा ५६ थान विभिन्न व्यक्तिका राहदानी बरामद गरेको जनाएको छ ।

यसरी ठगिनेमा अधिकांश बेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट स्वेच्छिक अवकाश लिएकाहरु रहेका छन्।  नेपालका सुरक्षा निकायमा काम गरेको अनुभव भएकाले विदेशमा सुरक्षा गार्डका लागि आकर्षक अवसर पाउँछन् । त्यसैले पेन्सन अवधि पुग्ने वित्तिकै जागिर छाड्नेको लहर चल्छ । धेरै पैसा कमाउने लोभमा खाइपाई आएको सरकारी जागिर छाडेका नेपाली सुरक्षा निकायका पुर्व अधिकारीहरुले आफु ठगीएपछि प्रहरीलाई खबर गरेका थिए।

अनुसन्धान अधिकृतकाअनुसार माल्ट्रा जाने टोलीमा रहेकाहरुले प्रहरीलाई खबर गरेलगत्तै लोकेशन ट्रेस गरेर पक्राउको प्रयास गरिएको थियो । उनी नेपालगञ्जमा देखिएका थिए तर, अनुसन्धान अधिकृतले पीडितलाई त्यसबारे जानकारी दिएपछि उनलाई प्रहरीले खोजी गरिरहेको सूचना चुहियो र श्रेष्ठ भाग्न सफल भए ।

प्रहरीले श्रेष्ठ हुनसक्ने विभिन्न स्थानमा छापा हाने पनि अपरेशन सफल भएन । त्यहीवेला कुवेत जाने टोली रिसले चुर भएर दिल्लीबाट फर्किएको थियो, जसमा नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका अवकाश प्राप्त अधिकारीहरु थिए ।

उनीहरुले भारतबाटै नेपालमा रहेका आफन्तलाई फोन गरेर श्रेष्ठलाई नेपालगञ्जमा खोज्न भने । त्यतिञ्जेल चन्दको माल्ट्रा जाने टोलीका केही व्यक्तिसँग सम्पर्क भइसकेको थियो । नेपालगञ्जमा रहेको विमानस्थलबाट उनी काठमाडौंतर्फ जान सक्ने उनीहरुको आशंका थियो । त्यसैले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर पनि पीडित पूर्वसुरक्षा अधिकृत श्रेष्ठलाई समात्न घेरा हालेर बसेका थिए । ‘टर्मिनल र अध्यागमन दुवैतिर हाम्रो साथीहरु हुनुहुन्थ्यो’, नेपाली सेनामा नायक पद बाट स्वेच्छिक अवकास लिएका कञ्चनपुरको महेन्द्रनगरका ध्रुवबहादुर चन्दले सुनाए, ‘हामीले सोचेअनुसारै शुक्रबार उनी नेपालगञ्ज विमानस्थलमा भेटिए ।’

ठगेका व्यक्तिलाई झुक्याउने गरी काठमाडौं–नेपालगञ्ज र फेरि नेपालगञ्जबाट काठमाडौं गएर त्यही दिन बेलुकी युरोपका लागि उड्ने तयारीका साथ श्रेष्ठ हिँडेका रहेछन् ।

पूर्वसुरक्षा अधिकृतले उनलाई पक्रेर जिल्ला प्रहरी कार्यालय, बाँकेलाई बुझाए । त्यसपछि नै उनले युरोप भाग्नका लागि टिकट काटेको खुलेको थियो । उनलाई ठगी गरेको स्थान काठमाडौं भएकाले बाँके प्रहरीले श्रेष्ठलाई काठमाडौं पठाइदियो ।

अहिले श्रेष्ठ काठमाडौं प्रहरीको हिरासतमा छन् भने आइतबार पीडितले उनीविरुद्ध किटानी जाहेरी दिएका छन् । श्रेष्ठले प्रहरीसँग प्रारम्भिक बयानमा गल्ती स्वीकार गरेका छन्, तर आफूलाई भारतमा रहेको एजेन्टले फसाएको दाबी गरेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदी पक्राउ परेका श्रेष्ठमाथि ठगी र सरकारी कागजात कीर्ते कसूर अन्तरगत मुद्दा चल्न सक्ने बताउँछन् ।

प्रतिक्रिया