जुट्ने र फुट्ने क्रममा राजावादीहरुको फेरी जुट्ने सहमति : प्रमुख उद्देश्य राजासहितको प्रजातन्त्र र धर्म सापेक्ष हिन्दु अधिराज्य

जुट्ने र फुट्ने क्रममा राजावादीहरुको फेरी जुट्ने सहमति : प्रमुख उद्देश्य राजासहितको प्रजातन्त्र र धर्म सापेक्ष हिन्दु अधिराज्य


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ फाल्गुन २०७६
  • 5.5K
    Shares

राप्रपा एकीकरणका लागी सहमति भएपछी हस्ताक्षर

पटक पटक जुट्ने र फुट्ने भनेर परिचय बनाएका  संसदबादी राजावादी दलहरुले फेरि पार्टी एकता गर्ने सहमति गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी एकता गर्ने गएराती सैद्धान्तिक सहमति भएको।  सो सहमति बमोजिम यही फागुन २८ गते एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को घोषणा हुनेछ।

शनिबार राति भएको १० बुँदे सहमतिमा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका छन् र संयुक्त महाधिबेशन नभएसम्म यिनै तीन जना कमल थापा, पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहनेछन ।

सत्तारुढ र प्रमुख प्रतिपक्षी बाहेक राष्ट्रियता र प्रजातन्त्रको धरातलमा खडा भएको राजनीतिक शक्तिको उपस्थिति जनताले खोजेकाले पार्टी एकता गर्ने सहमति गरेको नेताहरुले बताएका छन् । पार्टीको नीति र सिद्धान्त पूर्ण धार्मिक स्वतन्त्रतासहित सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र, साझा संस्थाको रुपमा राजसंस्था रहने लगायत हुनेछ ।

अहिले राप्रपाको झण्डा नै एकीकृत पार्टीको झण्डा हुनेछ भने चुनाव चिन्ह टुंगो लागेको छैन । यसबारे पार्टीको उपयुक्त निकायबाट ६ महिनाभित्र निर्णय लिने सहमति छ ।

यस्तै आगामी ढेड वर्षभित्र महाधिवेशन गर्ने, त्यसबेलासम्म पार्टीको दैनिक कार्यसञ्चालनका लागि तीन अध्यक्ष रहने निर्देशक समिति बनाइनेछ ।

पार्टी एकताको आधारपत्र र कार्यविधि निर्धारण गर्ने राप्रपाका दीपक बोहोरा, बुद्धिमान तामाङ र भास्कर भद्रा तथा राप्रपा संयुक्तबाट विक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमिल्सिना रहेको कार्यदल समेत गठन गरिएको तीन नेताद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया